मृतकहरुको सम्झनामा केन्यामा शोक

  • 5 एप्रिल 2015
तस्वीर कपीराइट EPA
Image caption विश्वविद्यालयमा गरिएको हमलामा परेका अधिकांश विद्यार्थीहरु थिए

केन्यामा क्रिस्चियन समुदायका मानिसहरुले इष्टर पर्वका अवसरमा देशभरका गिर्जाघरमा आयोजित सभाहरुमा विहिबार गरीसा विश्वविद्यालयमा गरिएका हमलामा परेकाहरुको सम्झनामा शोक व्यक्त गरेका छन्।

कैयौं गिर्जाघरमा सुरक्षाका निम्ति सशस्त्र गार्डहरु खटाइएका छन्।

गैर मुसलमानहरुलाई निशानामा पारेको इस्लामी विद्रोही समूह अल शबाबको आक्रमणमा मारिएका १४८ जनाप्रति प्रार्थनाहरु समर्पित गरिएका छन्।

प्रतिक्रिया

मारिएकाहरुको सम्झनामा केन्यामा तीन दिनसम्म राष्ट्रिय शोक व्यक्त गरिंदैछ।

इष्टर पर्वका समारोहहरुमा पनि विहिबार मारिएकाहरुको सम्झना गरिंदैछ।

राष्ट्रपति उहुरु केन्याटाले हमलाको कडा प्रतिक्रिया जनाइने बताएका छन्।

हमलामा सामेल चार मध्येका एक बन्दूकधारी एक सरकारी कर्मचारीको छोरा भएको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले जनाएको छ।

उनका बाबुले छोरा घरबाट हराएको रिपोर्ट सुरक्षा निकायलाई दिइसकेका थिए। र, हमलाका बेला उनले प्रहरीलाई छोरा पत्ता लगाउन सहयोग पुर्याइरहेको मन्त्रालयका प्रवक्ता मवेण्डा नकोजाले बताए।

हमलाका बखत चारै बन्दूकधारी मारिएका थिए। अन्य पाँच जनालाई सोही घटनाका सन्दर्भमा पक्राउ गरी सोधपूछ गरिंदैछ।

केन्याली रेड क्रसका अनुसार हालसम्म ज्यान गुमाएकाहरु मध्ये ५४ जनाको सनाखत भइसकेको छ।

हमलामा ज्यान जोगाएका ६ सय भन्दा बढी विद्यार्थी तथा करीब ५० कर्मचारीहरुलाई बसहरुमार्फत तिनको घर पुर्याउन थालिएको छ।

मारिएका १४८ मध्ये लगभग सबै विद्यार्थी थिए। थप ७९ जना घाईते भएका थिए।