यमनमा औषधोपचारका सामग्री पठाउने अनुमति

  • 6 एप्रिल 2015
तस्वीर कपीराइट AFP
Image caption गठबन्धन फौजको हवाई आक्रमणका बावजुद विद्रोहीहरुले अग्रता लिइरहेको बताइएको छ

मानवीय संकट बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस समितिले यमनमा औषधोपचारका सामग्री र आफ्ना कर्मचारीहरु पठाउने अनुमति पाएको जनाएको छ।

हूथी विद्रोहीविरुद्ध कारबाही गर्दै आएको साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनसँगको सहमतिपछि सोमबार राजधानी सानामा रेडक्रस समितिका दुईवटा विमान अवतरण गर्न लागेको उक्त संस्थाकी एकजना प्रवक्ता सितारा जाबीनले बताईन्।

उनले भनिन्, “यो देशमा पछिल्ला सातादेखि हवाई, स्थलमार्ग र बन्दगाहहरु बन्द छन्, जसका कारण सामानहरु पुर्याउन निकै गाह्रो छ।”

यमनको दक्षिणी क्षेत्रमा हूथी विद्रोहीहरु राष्ट्रपति अब्दराब्बुह मन्सुर हादीप्रति वफादार फौजविरुद्ध थप अगाडि बढेका छन्।

अग्रता

साउदी अरेबिया नेतृत्वको गठबन्धन फौजले हवाई आक्रमण जारी राखेपनि हूथी विद्रोहीले एडेन शहरमा अग्रता कायम गरेको बताइएको छ।

पछिल्ला रिपोर्टहरु अनुसार एडेन शहरको मध्य भागका सडकहरुमा लडाइ भईरहेको र विद्रोहीका ट्यांकहरु बन्दरगाह क्षेत्रमा प्रवेश गरिरहेका छन्।

संघर्ष चर्किन थालेपछि चीन लगायतका मुलुकहरुले बढ्दो मानवीय संकटबीच आफ्ना नागरिकहरुको उद्धार गर्ने प्रयासमा तीव्रता दिएका छन्।

गठबन्धन फौजको अनुमतिसँगै हवाई जहाजबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिले औषधोपचारका सामग्रीहरु यमनमा पुर्याउन लागेको जनाएको छ।

Image caption आक्रमणका कारण धेरै घरहरु ध्वस्त भई मानवीय संकट निम्तिन थालेको बताइएको छ

दुईवटा विमानका लागि अनुमति पाएको उसले उल्लेख गरेको छ।

औषधोपचार

कार्गो विमान महत्वपूर्ण औषधोपचारका सामग्रीसहित पुग्नेछ भने एउटा सानो यात्रुविमान चिकित्सकसहित अवतरण गर्ने बताइएको छ।

जाबीनले दुईवटै विमानलाई राजधानी सानामा सोमबार पुर्याउने उद्देश्य लिइएको बताईन्।

थप नागरिकहरु मारिन सक्ने भन्दै रेडक्रस समितिले दोस्रो ठूलो शहर एडेनमा २४ घण्टाका निम्ति संघर्षविराम गर्न शनिबार आग्रह गरेको थियो।

समितिका एकजना प्रवक्ताले उनकै शब्दमा उक्त शहरको मानवीय अवस्था निकै नाजुक रहेको र सडकमा शवहरु थुप्रिन थालेको बीबीसीलाई बताए।