'वैदेशिक रोजगारीमा जानेलाई नि:शुल्क पठाइने'

  • 8 एप्रिल 2015
Image caption विभिन्न मुलुकमा निःशुल्क भिसा र टिकट भए पनि कामदारहरु धेरै पैसा तिर्न बाध्य छन्

खाडी तथा अन्य मुलुकमा नेपाली कामदारले निःशुल्क काम गर्न जान पाउने गरी चाँडै प्रक्रिया शुरु गर्ने श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताएका छन्।

सबैभन्दा पहिला केही मुलुकहरुमा जान कामदारले तिर्नुपर्ने सरकारले नै तोकेको न्युनतम रकमको सीमा समेत हटाइने उनले बताए।

नेपालीहरु रोजगारीका लागि जाने गन्तव्य मुलुकहरुमध्ये दक्षिण कोरिया बाहेक खाडी लगायतका मुलुकहरुमा रोजगारका लागि कामदारले पहिले नै पैसा तिर्नुपर्ने हालको अवस्थाको अन्त्य गर्न सरकारले केही हप्ताभित्रै प्रक्रिया शुरु गर्ने गुरुङले बताए।

कामदार माग गर्ने सबै मुलुकका कम्पनीहरुले निःशुल्क भिसा र टिकट पठाईदिने हुनाले अब कामदारलाई पनि निःशुल्क नै त्यसतर्फ पठाउने वातावरणको श्रृजना गरिने उनले बताए।

निःशुल्क

उनले भने, “कामदार लैजाने मुलुकहरु जानको लागि निःशुल्क भिसा नै हो, अन्तराष्ट्रिय कानुन र मानवअधिकार अनुसार कामदारसँग पैसा उठाउन मिल्दैन, कतार मात्रै होइन, साउदी, दुबई, जापान सबैतीर निशुल्क भिसा नै ह, कुनै पनि कम्पनीलाई कामदार चाहियो भने सबै उसैले बेहोर्ने हो, निःशुल्क कामदार पठाउनको लागि मैले प्रयास गरिरहेको छु, कामदारले पैसा लगानी गर्नु हुँदैन।”

हाल केही मुलुकहरुमा काम गर्न जाने कामदारबाट वैदेशिक रोजगार व्यवसायी कम्पनीले लिन पाउने भनी सरकारले नै न्युनतम रकम तोकिदिएको त्यो व्यवस्था पनि यसै हप्ताभित्र खारेज गरिने मन्त्री गुरुङले बताए।

“एक हप्ताभित्र म सरकारले तोकेको न्युनतम रकमको सीमा नै हटाउँछु, मलेसियाको ८० हजार, कतारको २० हजार रुपैयाँ र अरु देशको जुन जुन सीमा तोकेको छ, पहिला त्यो नै हटाउनुपर्छ, त्यसपछि अरु कुराहरु पनि निश्चित प्रणालीमा ल्याइन्छ,” मन्त्री गुरुङले भने।

छलफल

नेपाल भ्रमणमा रहेका कतारका श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाह सलिह अल खुलाफीले नेपाली अधिकारीहरुसँग छलफल गरी मंगलबार स्वदेश फर्किएका छन्।

आफ्नो देशमा कामका लागि आउने कुनै पनि नेपालीले पैसा तिर्नु नपर्ने गरी आफ्ना देशका मेनपावर कम्पनीहरुलाई कडाईका साथ निर्देशन दिने उनले प्रतिबद्धता जनाएको मन्त्री गुरुङले बीबीसीलाई बताए।

कामदारहरुलाई वैदेशिक रोजगारीमा जाँदा मेनपावर वा दलालले जति भन्यो त्यति पैसा दिनुको साटो नियम बुझेर मात्रै विदेश जान उनले सुझाए।