हुलाकी राजमार्गका लागि 'नयाँ सम्झौता’

  • 7 एप्रिल 2015
नेपालको नक्सा
Image caption हुलाकी राजमार्ग नेपालको दक्षिणी तराई भेगको एक प्रमुख पूर्वाधार आयोजना हो

तराईमा हुलाकी राजमार्ग निर्माणका लागि ठेक्कापट्टा पनि आफैँले गरेको भारतीय सरकारले निर्माण कम्पनीहरुसँगको सम्झौता तोडेपछि नेपाल सरकार र भारतीय सरकारबीच नयाँ सम्झौताको प्रक्रिया शुरु गरिएको अधिकारीहरुले बताएका छन्।

नयाँ सम्झौतापछि अब निर्माणको काम नेपाली निर्माण कम्पनीहरुमार्फत नै हुने बताइएको छ।

६ सय ७ किलोमिटर लामो निर्माण कामका लागि सन् २०१० देखि काम शुरु भएको थियो।

विगतमा हुलाकसेवाको चिट्ठीपत्रहरु ओसारपसार गर्नका लागि प्रयोग गरिएको छिटो र छोटो बाटोलाई राजमार्ग बनाउने सरकारी उद्देश्यअनुरुप भारतीय सहयोगमा उक्त मार्गको निर्माणको काम शुरु भएको थियो।

सम्झौता

भारत सरकारले नै ठेक्कापट्टा गरेर राजमार्गलाई ६ भागमा बाँडेर निर्माणको काम अघि बढाएपनि उसैले निर्माण कम्पनीहरुसँगको सम्झौता तोड्ने निर्णय गरेको थियो।

जुन निर्णयपछि भारतीय सहयोगमै नेपाल सरकारले निर्माणको काम अघि बढाउने गरी नयाँ सम्झौता गर्ने प्रक्रिया शुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए।

उनले भने, “अहिले हामी निर्माणका लागि सम्झौताका लागि कोसिस गरिरहेका छौँ, त्यो सम्झौतापत्र हस्ताक्षर भएपछि ठेक्कापट्टाको काम बढ्छ।”

उक्त सम्झौता भएपछि अबको निर्माणको काम नेपाली निर्माण कम्पनीहरुमार्फत नै हुने बताइएको छ।

विभिन्न खण्डमा छुट्टाछुट्टै भइरहेको काममध्ये कैलाली जिल्लामा पर्ने खण्डको काम भने हालकै प्रक्रिया अनुरुप हुने सचिव सिटौलाको भनाई छ।

प्रक्रिया

उनले भने, “एउटा खण्डको काम पुरानै प्रणालीअनुसार सकिन लागेकोले त्यो सम्झौता कायम राखेको छ, अरु पाँचवटासँगको सम्झौता तोडेकाले तिनीहरुमा नयाँ प्रक्रियाबाट जाने तयारीमा छ।”

भारतीय सरकारसँग सम्झौता गर्न १ महिना लाग्ने बताइएको छ।

सन् २०१४ मा सक्ने पहिलो लक्ष्य थियो।

सन् २०१५ चलिरहँदा पनि सो मार्गको सम्झौतापछि निर्माणको काम पुन: शुरु हुन अझै ४ महिना जति लाग्ने सरकारी अनुमान छ।

समय लम्बिएसँगै आयोजनाको लागत पनि बढ्दै गइरहेको बताइएको छ।