'यमनको अवस्था गम्भीर'

  • 7 एप्रिल 2015
तस्वीर कपीराइट Reuters

विश्व स्वास्थ्य संगठनले यमनमा जारी संघर्ष सम्बन्धी तथ्यांकहरु प्रकाशित गर्दै हालैका हप्ताहरुमा त्यहां भएको भिडन्तमा झण्डै ५५० जनाको ज्यान गएको र १७ सय जना घाइते भएको जनाएको छ।

बीबीसीसंग कुरा गर्दै परोपकारी संस्था आइसीआरसीका प्रमुखले, यमनको एडन शहरलाई त्यहांको द्वन्द्वले एउटा भूत शहरमा परिणत गरिदिएको बताएका छन्।

रोबर्ट घोसेनका अनुसार त्यहां बाटोमा कोहि मानिसहरु देखिंदैनन्, अर्थतन्त्र ठप्प भएको छ र सडकहरुमा भवनहरुका भग्नावशेषहरुको थुप्रो लागेको छ।

उनले अस्पतालहरुमा मृतक र घाइतेहरुको ओइरो लागिरहेको र ति अस्पतालहरुमा आवश्यक सामग्री र जनशक्ति दुवैको अभाव रहेको बताएका छन्।

सहरमा विभिन्न समुहहरुसंग सम्बद्ध सशस्त्र लडाकुहरु यत्रतत्र रहेका उनको भनाइ थियो।

आह्वान

तस्वीर कपीराइट EPA

आइसीआरसीले एडनमा २४ घण्टे संघर्ष विरामको लागि आह्वान गरेको थियो।

रुसले पनि मानवीय सहायता पठाउनका निम्ती हवाई हमलाहरु रोक्ने प्रस्तावमा समर्थन जनाउन राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गरेका थियो।

संयुक्त राष्ट्र संघीय बालकोष, युनिसेफले द्वन्द्वमा हालसम्म ७४ जना बालबालिका मारिएका जनाएको छ।

साउदी नेतृत्वको गठबन्धनले त्यहां आइसीआरसीलाई आफ्ना कर्मचारी र चिकित्सा सामग्रीहरु बोकेका विमानहरु अवतरण गर्ने अनुमति दिएको थियो।

सोमबार त्यहां एउटा यात्रु वाहक विमान अवतरण गरेको भएतापनि सुरक्षा चिन्ताका कारण राहत सामग्रीहरु बोकेको विमान भने उड्न सकेको थिएन।

आक्रमण

तस्वीर कपीराइट EPA

साउदी नेतृत्वको गठबन्धनका युद्धविमानहरुले पछिल्लो हमलामा यमनको एउटा दक्षिणी प्रान्त इबमा रहेका सैनिक संरचनाहरुमाथि आक्रमण गरेका छन्।

नजीकै जनजातिय लडाकुहरु र विद्रोही सैन्यबीच भिडन्त भएको थियो। यमनमा हालैका महिनामा विभिन्न समूहहरुबीच लडाईं भैरहेको छ।

मुख्य द्वन्द्व हुथी विद्रोहिहरु र साउदी अरेवियामा पलायन भएका यमनी राष्ट्रपति अब्दुरअबु मन्सुर हादीको सरकारप्रति बफादार सैनिकहरुबीच भैरहेको छ।

एडन शहर राजधानी सानाबाट दक्षिण तर्फअघि बढीरहेका हुथी विद्रोहीहरुको घेराबन्दीमा परेको छ।

गत दुई हप्तादेखि साउदी युद्ध विमानहरुले हुथी विद्रोहीहरुलाई निशाना बनाइरहेका छन् भने, लडाईंको चेपुवामा सर्वसाधारण परिरहेका छन्।