'आधार शिविरमा कार्यालय हप्ता दिनमा'

  • 9 एप्रिल 2015
तस्वीर कपीराइट Getty
Image caption आधार शिविरमा एक हप्ताभित्र सम्पर्क कार्यालय खोलिने अधिकारीहरुको भनाई छ

गत वर्ष १६ जना शेर्पा आरोहण सहयोगीको ज्यान गएपछि सुनसान बनेको सगरमाथा क्षेत्रमा यसपालि गएको दश दिनमै २८ वटा टोलीले सगरमाथा आरोहणको लागि अनुमति लिएको र अढाई सयभन्दा बढी आरोहीहरु लुक्लातर्फ प्रस्थान गरिसकेको पर्यटन विभागले जनाएको छ।

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन यसै वर्षदेखि थालिएको नयाँ कदम अन्तर्गत आधार शिविरमा एक हप्ताभित्र सम्पर्क कार्यालय स्थापना गरिसक्ने बताईएको छ।

संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणको याम शुरु हुनासाथ विश्वभरिका आरोहीहरु सगरमाथातर्फ प्रस्थान गर्न शुरु गरिसकेका छन्।

आरोहणका लागि मे महिनासम्म अनुमति लिन पाइने भएपनि सिजन शुरु हुनासाथ धेरै टोलीले अनुमति लिएको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले बताए।

आरोहण

उनले भने, “गत वर्ष ३१ वटा टोली थिए भने अहिले गएको १० दिनमै २८ वटा टोलीले आरोहणको इजाजत लिइसकेका छन्, विगतका वर्षहरुभन्दा बढी टोलीले सगरमाथा आरोहण गर्ने अवस्था देखिएको छ, दुई सय ५९ जना सगरमाथा आरोहणका लागि प्रस्थान गरिसकेका छन्।”

सरकारले यस वर्षदेखि आरोहीलाई कुनै समस्या परे समाधान गर्न तथा विभिन्न टोलीहरुबीच समन्वय स्थापित गर्न सगरमाथा आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा एक हप्ताभित्र उक्त निर्णय कार्यान्वयन भइसक्ने महानिर्देशक गौतमले बताए।

“करिब एक हप्ताभित्रमा हामी कार्यलय स्थापना गरिसक्छौं, आरोहण टोली आधार शिविर पुगी सकेपछि हाम्रो टोली पनि त्यहाँ पुग्छ र कार्यालय स्थापना गर्छ, यसको लागि मान्छे जान तयार भएर खटाईसकेको अवस्था छ,” गौतमले भने।

गत वर्ष सगरमाथा आरोहणको क्रममा हिम पहिरोमा परी १६ जना शेर्पा आरोहीहरुको मृत्यु भएपछि यस वर्ष आरोहणलाई व्यवस्थित गर्न सरकारले सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।

लक्ष्य

उक्त दुर्घटना पश्चात शेर्पाहरुले पछिल्ला आरोहणहरु रद्द गरेपछि झण्डै सवा तीन सय आरोहीहरु सगरमाथा चढ्नबाट बञ्चित भएका थिए।

उनीहरुलाई त्यसबेला तिरिएकै आरोहण शुल्कबाट पाँच वर्षभित्र सगरमाथा चढ्न दिने सरकारको निर्णय बमोजिम कतिपय यस वर्ष आरोहणका लागि आएको विभागको भनाई छ।

यस वर्ष सगरमाथा आरोहणमा किर्तिमान राख्न एचआईभी संक्रमित, दुवै खुट्टा कृत्रिम भएका तथा काठमाण्डूबाट गएको १० दिनमै आरोहण सकेर फर्कने लक्ष्य लिएकाहरु रहेका छन्।

किर्तिमान राख्न चाहने चार जनामध्ये दुई जना नेपाली छन्।