गठबन्धनलाई हतियार आपूर्तिमा तीव्रताः अमेरिका

  • 8 एप्रिल 2015
तस्वीर कपीराइट AFP
Image caption सरकार समर्थक र हूथी विद्रोहीबीच यस सातादेखि संघर्ष चर्केको बताइएको छ

यमनमा हूथी विद्रोहीविरुद्ध कारबाही जारी राखेको साउदी अरेबिया नेतृत्वको गठबन्धन फौजलाई हतियार उपलब्ध गराउने कार्यमा तीव्रता दिइएको अमेरिकाले जनाएको छ।

अमेरिकी उपविदेशमन्त्री एन्टोनी ब्लिन्केनले गठबन्धन फौजसँग जासुसी सूचना आदानप्रदान पनि बढाइएको बताए।

सहायता संस्थाहरुले यमनको बन्दरगाह शहर एडेनमा मानवीय संकट आउन लागेको चेतावनी दिएका छन्।

सडकहरुमा विद्रोही र सरकारका समर्थकहरुबीच जारी लडाइबाट त्यो देखिएको उनीहरुको भनाई छ।

विस्थापित

पछिल्ला १५ दिनमा भएका लडाइमा करिब ५ सय ५० जनाको ज्यान गएको बताइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार उक्त समयावधिमा करिब २ हजार मानिसहरु घाईते भएका छन्।

बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफका अनुसार मृत्यु हुनेमध्ये कम्तीमा ७४ जना बालबालिका छन् र द्वन्द्वका कारण एक लाख मानिसहरु विस्थापित भएका छन्।

अन्तर्राष्ट्रिय रेडक्रस समितिकी एकजना प्रवक्ताले उनकै शब्दमा कम्तीमा भन्नु पर्दा एडेनको अवस्था निकै खराब रहेको बताइन्।

तस्वीर कपीराइट AP
Image caption संघर्ष चर्केपछि हजारौं मानिसहरुलाई सम्बन्धित मुलुकले उद्धार गरेका छन्

समाचार संस्था एएफपीलाई मरी क्लेएर फेगालीले भनिन्, “एडेनका प्रत्येक सडक र कुनामा युद्ध भईरहेको छ, धेरै मानिसहरु भाग्न असमर्थ छन्।”

संघर्ष

रेडक्रस समिति लगायतका सहायता संस्थाहरु एडेनमा सहायता सामग्री र कर्मचारीहरु पठाउन प्रयासरत रहेको बताइएको छ।

गत मार्चमा विद्रोहीहरु अगाडि बढेपछि उक्त बन्दगाहसँग धेरै हदसम्म सम्पर्क विच्छेद भएको छ र त्यससँगै राष्ट्रपति अब्दराब्बुह मन्सुर हादी साउदी अरेबिया भाग्न बाध्य भएका थिए।

यो सातादेखि एडेनमा संघर्ष चर्किएको छ।

समाचारहरुमा जनाइएअनुसार अस्पतालहरुमा मान्छे राख्ने ठाउँ नभएको, एम्बुलेन्सहरु अपहरणमा परेको र शवहरु त्यतिकै सडकमा छरिएको अवस्था छ।

मंगलबार साउदी अरेबियाको राजधानी रियादको भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री ब्लिन्केनले साउदी नेतृत्वको गठबन्धनलाई हतियार उपलब्ध गराउने कार्यलाई तीव्र पारिएको बताए।