यमनमा विद्रोहीहरुको ताजा हमला

  • 8 एप्रिल 2015
तस्वीर कपीराइट Reuters
Image caption साउदी नेतृत्वको गठबन्धनका लडाकु विमानहरुले विद्रोहीहरुको ठेगानामा हमला गरेका छन्

यमनका विद्रोहीहरुले दक्षिणी बन्दरगाह शहर एडनलाई कब्जामा लिने प्रयासमा पुन: ताजा हमला गरेपछि उनीहरुको सरकार समर्थक मिलिसियासंग भीडन्त भैरहेको बताइएको छ।

हुथी भनिने दर्जनौं शिया मुसलमान विद्रोहीहरु पहिले यमनी सरकारको आधार क्षेत्र मानिने त्यहांको मध्यवर्ती क्षेत्रमा अघि बढ्दै जांदा उक्त भिडन्त भएको थियो।

त्यहांका कतिपय घरहरुमा रकेटहरु खसेपछि आगो लागेको स्थानीय वासिन्दाहरुले बताएका छन्।

स्थानीय मस्जीदमा रहेका लाउडस्पीकरहरुबाट आक्रमणकारीहरुको प्रतिकार गर्न आह्वान गरिएको थियो।

हमला

यसैबीच साउदी नेतृत्वको गठबन्धनका लडाकु विमानहरुले उत्तरमा विद्रोहीहरुको ठेगानामा हमला गरेका छन्।

इरानले पनि एडनको खाडीमा नौसेनाको जहाज पठाएको बताइएको छ।

इरानले हुथीहरुलाई सैनिक तथा आर्थिक सहायता प्रदान गरिरहेको भन्ने साउदी आरोपलाई तेहरानले खारेज गरेको छ।

सडकहरुमा कैयौं दिनसम्म चलेको भिडन्त पछि एडनमा गैरसैनिकहरुको अवस्था एकदमै खराब रहेको बताइएको छ।

राहत

तस्वीर कपीराइट AFP
Image caption कतिपय घरहरुमा रकेटहरु खसेपछि आगो लागेको स्थानीय वासिन्दाहरुले बताएका छन्

हवाइ हमला आरम्भ भएको समयपछि पहिलो पल्ट एउटा परोकारी संस्था मेडसां सं फ्रंटिएका निम्ति साढे दुई टन चिकित्सा राहत सामग्रीहरु बोकेको एउटा जहाज एडन बन्दरगाहमा पुगेको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय रेडक्रस, आइसीआरसी, ले यमनको द्वन्द्वमा संलग्न सबै पक्षबाट त्यहां राहत सामग्रीहरु वितरण गर्न आफूले स्वीकृति पाएको जनाएको छ।

आइसीआरसीको जिनीभास्थित मुख्यालयकी एकजना प्रवक्ताले अब केही घण्टा भित्रै एडनको बन्दरगाहमा राहत सामग्री बोकेको एउटा जहाज ‌पुग्ने र त्यसपछि केही टन औषधि बोकेका दुईवटा विमानहरु पनि त्यहां पठाइने बताइन्।

बीबीसीकी इमोजेन फुक्स आफ्नो रिपोर्टमा भन्छिन्, यमनमा औषधि उपचारको खांचो परेका हजारौं मानिसहरु हुनसक्ने सहायता एजेन्सीहरुको अनुमान छ।