मुम्बई हमलाका आरोपित रिहा

  • 10 एप्रिल 2015
तस्वीर कपीराइट AP

सन् २००८ को मुम्बई हमलाका एकजना आरोपित योजनाकारलाई पाकिस्तानी जेलबाट धरौटीमा मुक्त गरिएको छ।

तर एकसय ६० जना भन्दा बढीको ज्यान जाने गरी भएको उक्त हमलाका सम्बन्धमा ति आरोपीत योजनाकार जाकीउर रहमान लखवी विरुद्धको मुद्दा भने जारी नै रहनेछ।

यसअघि पनि तीन पटक ति अभियुक्तलाई धरौटीमा रिहा गर्ने अदालती आदेशहरु भएका थिए तर पाकिस्तानी सरकारले हालसम्म उनलाई थुनामा नै राखिरहेको थियो।

भारतले यसबाट आफू निराश भएको बताएको छ। ‌

धरौटी

लाहोरस्थित एउटा अदालतको आदेशमा जाकीउर रहमान लखवी धरौटी राखेर रिहा भएका हुन्।

रावलपींडीका जेल अधिकारीहरुले उनलाई शुक्रबार विहानै छोडिएको बताएका छन्।

पाकिस्तानी सरकार र अदालतबीच कानूनी तानतानको पछिल्लो परिणाम स्वरुप लखवीको रिहाई भएको छ।

तस्वीर कपीराइट AP

गत डिसेम्बरमा नै अदालतले उनलाई थुनामा राखिरहनु पर्ने पर्याप्त प्रमाण नभएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर सरकारले त्यस्तो फैसलाप्रति असहमति जनाउंदै उनलाई सार्वजनिक कानूनी व्यवस्था ऐन अन्तर्गत थुनामा राखेको थियो।

जारी

सन् २००८ मा भारतको मुम्बईमा १६६ जनाको ज्यान जाने गरी भएको हमलाका सम्बन्धमा लखवी सहित अन्य सातजना व्यक्तिहरु विरुद्धको मुद्दा जारी नै रहेको छ।

तर अब उनलाई थुनामा राखिरहन सरकार असफल भएको देखिएको छ।

उक्त हिंसाका लागि लश्कर ए तोएबा समूहलाई दोष दिइएको थियो, जुन समूहको नेतृत्व लखवीले गरेका बताइएको थियो।

पक्राउ

तस्वीर कपीराइट AFP Getty

एकजना प्रमुख संदीग्ध भनी भारतीय अधिकारीहरुले उनको नाम सार्वजनिक गरिएको चार दिन पछि नै सन् २००८ को डिसेम्बर ७ तारिखमा उनी पक्राउ परेका थिए।

भारतका गृहमन्त्री राजनाथ सिंहले लखवीको रिहाईलाई उनकै शब्दमा दुर्भाग्यपूर्ण र निराशाजनक भनेका छन्।

र भारतीय सामाजीक संजालका वेबसाइटहरुमा ठूलो आक्रोश व्यक्त भएको छ।

लखवी सम्बन्धीत रहेको भनिने एउटा पाकिस्तानी समूहका प्रवक्ताले उनी सुरक्षित स्थलमा रहेको बताएका छन् तर त्यस्तो स्थानको यकिन ठेगाना भने उनले बताएनन्।