सहमतिमै संविधान जारी हुन्छः एमाओवादी

  • 13 एप्रिल 2015
तस्वीर कपीराइट Balkrishna Thapa
Image caption सहमति नभएसम्म संविधानसभाको बैठकमा उपस्थित नहुने विपक्षीहरुले बताएका छन्

संविधानका विवादित विषयहरु सुल्झाउन विभिन्न विकल्पमा छलफल भईरहेकाले सहमतिमा संविधान आउने सम्भावना बढेको विपक्षी एकीकृत माओवादीका एक नेताले बताएका छन्।

यद्यपि सहमति नभए सोमबार बोलाइएको संविधानसभाको बैठकमा आफूहरु नजाने उनले बताए।

सत्तारुढ दलका नेताले भने तुरुन्तै सहमति हुनेमा आशंका व्यक्त गरेका छन।

झण्डै दुई महिनाको स्थगनपछि गत हप्ता बसेको संविधानसभाको बैठक कुनै एजेण्डामै प्रवेश नगरी श्रद्धाञ्जली प्रस्ताव पारित गरेर सकिएको थियो।

प्रक्रिया

त्यसपछि सोमबार बोलाईएको बैठक पनि त्यही प्रक्रियाअनुसार सकिने भएको छ।

पूर्वसांसद सलिम मियाँ अन्सारीको निधन भएकाले स्थापित मान्यताअनुसार श्रद्धाञ्जली प्रस्ताव मात्रै पारित हुने भएको हो।

अघिल्लो बैठकमा मानवीय पक्षको ख्याल राख्दै एकीकृत माओवादी नेतृत्वको मोर्चाका प्रतिनिधिहरु संविधानसभामा उपस्थित भएपनि सोमबार के गर्ने भन्ने विषयमा टुङ्गो लागि नसकेको एमाओवादी नेता टोपबहादुर रायमाझीले बताए।

यद्यपि दलहरु सहमतिको नजिक भएकाले सहमतिमै संविधान बन्ने सम्भावना बढेको उनको भनाई छ।

उनले भने, “विषयवस्तुहरु एकदम कम भएको र सहमतिको नजिक पुगिएको हुनाले सहमतिबाट संविधान बन्ने सम्भावना एकदम नजिक छ, नमिलेका विषयहरुमा विभिन्न विकल्पहरुमा छलफल भइरहेको छ, स्थिति सकारात्मक छ, सहमति हुन्छ, यदि भएन भने संविधानसभाको बैठक केही समय पर सर्छ।”

विश्वस्त

तर सहमति तुरुन्तै भइहाल्नेमा सत्तारुढ दलका नेताहरु विश्वस्त देखिएका छैनन्।

लामो समयदेखि एकीकृत माओवादीले सहमतिको नाममा आफूहरुलाई धेरै कुराएको भन्दै अब भने अर्को बैठकसम्ममा पनि सहमति नभए प्रक्रियामा जान कसैले रोक्न नसक्ने नेकपा एमालेका नेता अग्नि खरेलले बताए।

उनले भने, “यो त पोहोरदेखि नै भन्दै आउनुभएको थियो उहाँहरुले, चार-पाँच गतेभित्रमा अर्को बैठक बस्नेछ, यो बीचमा सहमति बन्यो भने राम्रै हुन्छ, तर सहमति भएन भने प्रक्रियामा जान भगवानले पनि रोक्न सक्दैनन् जस्तो लाग्छ।”

संविधान निर्माणलाई गति दिन भन्दै आईतबार प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

बैठकले संविधान निर्माणको क्यालेण्डर बनाउने विषयमा छलफल गरेको नेता खरेलले बताए।