पोपको भनाईप्रति टर्की क्रुद्ध

  • 12 एप्रिल 2015
तस्वीर कपीराइट Reuters
Image caption पोप फ्रान्सिसले मारिएकाहरुको सम्झनाको सम्मान गर्नु आफ्नो दायित्व भएको बताएका छन्

पहिलो विश्व युद्ध ताका एक सय वर्ष अगाडी अट्टोमन शासनका बेला भएको आर्मेनियालीहरुको आम हत्यालाई पोप फ्रान्सिसले नरसंहारको संज्ञा दिएपछि रुष्ट टर्कीले भ्याटिकनका दूतलाई सोधपूछका निम्ति बोलाएको हो।

उक्त हत्याको एक सयौं वर्षगाँठमा आयोजित सभालाई सम्बोधन गर्दै पोपले दुष्कार्यप्रति आँखा चिम्लनु भनेको घाउलाई उपचार नगरी राख्नु सरह हुने बताए।

तिक्तता

आर्मेनिया सहित कैयौं इतिहासकारहरुका अनुसार सन् १९१५ मा अट्टोमन फौजले पन्ध्र लाख सम्म मानिसहरु मारेको थियो।

उनीहरुका अनुसार त्यतिखेर पुरुष जति मारिएका थिए भने महिला, बालबालिका तथा वृद्धवृद्धालाई मरुभूमीतर्फ खेदिएको थियो, जहाँ उनीहरुले ज्यान गुमाए।

तर टर्कीले लगातार उक्त घटना नरसंहार नभएको बरु विश्व युद्ध ताका भड्किएको आन्तरिक द्वन्द्वको नतिजा भएको बताउने गरेको छ।

उक्त घटनाको एक सयौं वर्षगाँठमा रोममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पोपको पछिल्लो टिप्पणी आएको छ।

उक्त सभामा आर्मेनियाका राष्ट्रपति समेत सहभागी थिए।

सोही घटनालाई लिएर आर्मेनिया र टर्कीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ।