जर्मन लेखक ग्यून्टर ग्रासको निधन

  • 13 एप्रिल 2015
तस्वीर कपीराइट AFP
Image caption ग्रास राजनीतिक रुपमा पनि सक्रिय थिए।

नोबेल पुरस्कार विजेता जर्मन लेखक ग्यून्टर ग्रासको ८७ वर्षको उमेरमा निधन भएको छ।

वाम विचारधाराका खरो आवाजका रुपमा परिचित उनलाई युद्ध पछिको जर्मनीमा नैतिकताको मापदण्डका रुपमा लिने गरिन्थ्यो।

उनले नाजीवादको उदय र युद्धकालिन अत्याचारपछि देशमा व्याप्त पश्चातापको भावनाका बारेमा बोल्ने गर्दथे।

सोमबार बिहान एउटा क्लिनिकमा उनको निधन भएको उनका प्रकाशकले जनाएका छन्।

सन् १९९९ मा ग्यून्टर ग्रासलाई सम्मानित गर्दै नोबेल एकेडेमीले उनको “द टिन ड्रम” नामक कृतिलाई दशकौंको भाषिक तथा नैतिक विनाश पछि जर्मन साहित्यको नयां आरम्भ भनेर प्रशंसा गरेको थियो।

विवाद

सन् १९५९ मा प्रकाशित उक्त पुस्तकको विषयको परिवेश उनको गृहनगर ड्यानजीगमा आधारित छ र त्यसमा आधारित भएर बनेको चलचित्रले ओस्कर पुरस्कार पाएको थियो।

लामो र घोप्टिएको जुंगा पाल्ने ग्यून्टर ग्रास बीसौं शताब्दीका एकजना सजिलै चिनिने, प्रभावशाली र विवादित साहित्यिक व्यक्तित्वहरुमा पर्दछन्।

दोस्रो विश्वयुद्ध आरम्भ हुंदा उनी किशोर अवस्थामा थिए।

पछि उनलाई युद्धपश्चात जर्मन संस्कृतिको पुनरुत्थानमा सघाएको र नात्सी कालपछि पश्चातापबाट ग्रस्त सिंगो पुस्तालाई आवाज प्रदान गरेको भनी प्रशंसा गरिएको थियो।

प्रतिबन्ध

सन् २००६ मा उनले आफ्नो आत्मसंस्मरण मार्फत् आफू किशोर अवस्थामा हिटलरको वाफन एसएसको एक सदस्य रहेको खुलासा गरेर थुप्रै जर्मनहरुलाई स्तब्ध पारेका थिए।

उनी सोसल डिमोक्र्याटिक पार्टीको प्रचार प्रसारमा संलग्न थिए र जर्मन सार्वजनिक जीवन र बहसको एक महत्वपूर्ण हिस्साका रुपमा रहेका थिए।

अनि दुई वर्ष अघि उनले इजरेललाई विश्व शान्ति प्रति एउटा मुख्य जोखिमका रुपमा प्रस्तुत गर्ने कविता, “ह्वाट मस्ट बी सेड”, प्रकाशित गरेपछि उनलाई इजरेल प्रवेशमा प्रतिबन्ध लगाइएको थियो।