जाजरकोटमा देखिएको फ्लूमा एचवन एनवन भाइरस

  • 14 एप्रिल 2015
Image caption चिसो कम भएसँगै यो रोगको महामारी पनि कम हुने अधिकारीहरुले बताएका छन्।

दुई साता यता जाजरकोटमा महामारीको रुपमा देखिएको रोग एचवनएनवन भाइरसका कारण भएको अधिकारीहरुले बताएका छन्।

उक्त रोगका कारण स्वाइन फ्लू भनिने गरेको रोग लाग्ने बताइन्छ।

रोग प्रभावित क्षेत्रमा औषधी र चिकित्सकको टोली पुगेपछि स्थिति नियन्त्रणमा आएको भनिए पनि त्यहाँ हालसम्म करीब १५ जनाको ज्यान गइसकेको स्थानीयवासिन्दाहरुले बताएका छन्।

सोमबार मात्रै तीनजनाको मृत्यू भएको तालेगाउँ गाविसमा अहिलेसम्म औषधि र चिकित्सकको टोली नपुग्दा गाउँलेहरुमा त्रास बढेको स्थानीय वासिन्दा र स्वास्थ्यकर्मीहरुले बताए।

गएको दुइसातामा केही मानिसहरुको ज्यान गइसकेको भनिएको जाजरकोटका विभिन्न गाउँमा देखापरेको रोगमा मौसमी फ्लू देखिएको अधिकारीहरुले बताएका छन्।

परिणाम

झन्डै १२ सय मानिसहरुले उपचार गरिसकेको भनिएको उक्त क्षेत्रमा आइतबार पुगेको स्वास्थ्यमन्त्रीको टोलीले १२ जना बिरामीको नमुनालाई परीक्षणका लागि काठमाडौं ल्याएको थियो।

उक्त परीक्षणबाट देखिएको नतिजाबारे रोग नियन्त्रण महाशाखाका निर्देशक बाबुराम मरासिनीले भने, "परीक्षण गर्दा १२ मध्ये ३ जनामा एचवन एनवन भनिने भाइरस देखिएको छ। बाँकीको परिणाम आउनै बाँकी छ।"

ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने र वाकवाकी हुनेजस्ता लक्षण भएको उक्त रोग नियन्त्रणका लागि सरकारले आवश्यक चिकित्सक र औषधी प्रभावित क्षेत्रमा पुर्याइसकेकोले स्थिति नियन्त्रणमा आएकोमध्यपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डाराजेन्द्र पन्तले बताए।

तरउनले यस्तो बताइरहँदा तालेगाउँ गाविसका बासिन्दाहरुको भने औषधी र चिकित्सक नपुगेको भन्ने गुनासो छ।

गुनासो

एकजना स्थानीय वासिन्दा कृष्णबहादुर सिंहले भने, "यहाँको अरु गाविसहरुमा औषधी र डाक्टरहरु पुगे पनि हाम्रो यो गाविसमा अहिलेसम्म केही आइपुगेको छैन।"

तालेगाउँ स्वास्थ्यचौकीकी अनमी विष्णू थोकरले भनिन्, "अहिलेसम्म चारजना मानिसको ज्यान गइसकेपछि अब बिस्तारै औषधीहरु पनि कम हुन थालेको छ। त्यसैले आज हामीले फोन गरेर खबर गर्यौं, औषधी र चिकित्सकहरु आउँदै छन् भन्ने खबर आएको छ। भोलि बिहानसम्म आइपुग्छ होला टोली।"

तर त्यहाँ मृत्यु भएका सबै मानिसहरुको ज्यान यही रोगका कारणमात्रै गएको भन्न मिल्ने आधारहरु फेला नपरेको अधिकारीहरुले बताएका छन्।

प्रभावित क्षेत्रबाट थप नमुना ल्याएर फेरि परीक्षण गरिने बताइएको छ।