पूर्व प्रधानमन्त्री थापाको अन्त्येष्टि शुक्रबार

  • 16 एप्रिल 2015
तस्वीर कपीराइट bbc
Image caption सूर्यबहादुर थापाकै सक्रियतामा राप्रपा र राप्रपा नेपालबीच एकीकरण प्रयास थालिएको थियो

उपचारका क्रममा बुधबार राति निधन भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार अन्त्येष्टि गरिने उनको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ।

उक्त पार्टीका महामन्त्री दीपक बोहोराले थापाको शव बिहीबार अपरान्ह दिल्लीबाट काठमाण्डू ल्याइने बताए।

उनका अनुसार पार्टीको आकस्मिक बैठकले श्रद्धाञ्जलीका लागि थापाको शव बिहिबार निजी निवासमा र शुक्रबार पहिला पार्टी कार्यालय र त्यसपछि दशरथ रंगशालामा राख्ने निर्णय गरेको छ।

उनले भने, “शुक्रबारनै उहाँको अन्त्येष्टि गरिनेछ, सात दिनसम्म पार्टीको झण्डा आधा झुकाइने छ र १३ दिनसम्म पार्टीको कुनै औपचारिक कार्यक्रम गरिने छैन्।”

स्वास्थ्य

सो पार्टीका सहायक प्रवक्ता किरण गिरीका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका थापाको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको थियो।

चैत्र ५ गते आफ्नो ८८ औं जन्मदिन मनाएका थापालाई चैत्र १६ गते स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि दिल्ली लगिएको थियो।

केही दिन पहिले आन्द्राको सफल शल्यक्रिया गरिएका थापाको बुधबार साँझ स्वासप्रश्वास समस्या बढेको थियो।

धनकुटाको मुगामा जन्मिएका थापा गएको झण्डै ६ दशकदेखि नेपाली राजनीतिमा सक्रिय थिए।

उनी पाँच पटक देशको प्रधानमन्त्री भएका थिए ।

दोश्रो संविधानसभाका पनि सदस्य रहेका थापा सबैभन्दा ज्येष्ठ सदस्य पनि थिए।

सम्बन्ध

२०३७ सालमा जनमत संग्रहताका प्रधानमन्त्री रहेका थापालाई पञ्चायती व्यवस्था जिताउन साम, दाम, दण्ड, भेद प्रयोग गरेको आरोप लाग्ने गरेको थियो।

तर बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि बहुदलवादी दलहरुकै सहयोगमा उनी प्रधानमन्त्री बनेका थिए।

कतिपयले उनलाई दक्षिणी छिमेकी भारतसँग नजिक सम्बन्ध रहेको नेपाली राजनीतिज्ञको रुपमा पनि चित्रित गर्दथे।

यद्यपि थापाले भारत तथा चीन दुवै छिमेकीसँग नेपालले निकट सम्बन्ध राख्‍नुपर्ने बताउँदै आएका थिए।

पञ्चायतकालमा भूमिगत गिरोहको विरोध गरेर चर्चामा आएका थापा प्रजातन्त्रको पुनर्स्थापनापछि पनि आफ्नो खरो विचारका लागि चिनिन्थे।

भूमिका

पत्रकार हरिबहादुर थापाका अनुसार २०१७ साल पुस १ गते पञ्चायती व्यवस्था लाद्ने भाषणका निर्माता पनि थापा नै थिए।

पञ्चायतको मान्यता स्थापित गराउन पनि थापाले सक्रिय भूमिका खेलेको धेरैको बुझाई छ।

विगतमा दरबारले उनलाई अप्ठ्यारो अवस्थामा प्रयोग गरेको पत्रकार थापा बताउँछन्।

उनी व्यक्ति र परिस्थिति चिन्न सक्ने कुशल नेताका रुपमा पनि चिनिन्थे।

पछिल्लो समय आफन्त खासगरी छोरालाई राजनीतिमा स्थापित गराउँदा उनी आलोचित बनेको पत्रकार थापाको भनाई छ।

आलोचना

पत्रकार थापा भन्छन्, “उनी व्यवहारिक राजनीतिज्ञ त थिए तर सिद्धान्तनिष्ठ चाहिँ थिएनन्।”

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र नेपालका राजा महेन्द्रबीच सम्बन्ध बिग्रिएका बेला थापाले सहजकर्ताको भूमिका निर्वाह गरेको बताइन्छ।

थापाले आफ्नो पार्टीलाई गणतन्त्र स्वीकार्ने पार्टीको रुपमा पनि स्थापित गराए।

थापाले दलहरुबीच विवाद हुँदा बेला-बेला समन्वय गर्ने काम पनि गर्दथे।