आवश्यक जनशक्ति नहुँदा स्वास्थ्य सेवामा असर

  • 17 एप्रिल 2015
Image caption दरबन्दी अनुसार छनोट प्रक्रिया थाल्न एक महिना लाग्ने अधिकारीहरुले बताएका छन्

देशभरका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारको जनशक्तिको व्यवस्था नहुँदा आवश्यकता अनुसारको सेवा दिन नसकिएको सम्बन्धित क्षेत्रका अधिकारीहरुले बताएका छन्।

विगतदेखि नै दरबन्दी कम रहेको र हालै उपस्वास्थ चौकीहरुलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गर्ने निर्णयपछि थप जनशक्तिको अभाव भएको बताइएको छ।

सरकारले पदपूर्तिका लागि करिब ८ हजार दरबन्दी स्वीकृत गरेको भएपनि छनोट प्रक्रिया पूरा हुन झन्डै एक महिना लाग्ने बताइएको छ।

स्वास्थ्य सेवा विभागको तथ्याङक अनुसार देशभर तोकिएका दरबन्दी अनुसार कुनैपनि स्वास्थ्य संस्थामा स्वास्थकर्मी पूरा छैनन्।

न्यून

त्यसमा पनि पहाडी र हिमाली जिल्लामा दरबन्दी अनुसारको जनशक्ति ज्यादै न्यून रहेको छ।

जिल्लाहरुका लागि छुट्टयाइएका ४ सय ६८ जना चिकित्सकमध्ये २ सय ५८ जना मात्र रहेका छन्।

क्षेत्रीय र अञ्चल अस्पतालहरुमा पनि दरबन्दी र विशेषज्ञ चिकित्सकहरु पनि हालसम्म पूरा गर्न नसकिएको बताइएको छ।

त्यस्तै अवस्था नर्स र अहेव लगायतका अन्य स्वास्थ्यकर्मीहरुको दरबन्दी पनि रहेको छ, जसका कारण बिरामीहरुलाई दिनुपर्ने सेवा दिन नसकिएको बताउँछन्, स्वास्थ्य विभागका निर्देशक भीम आचार्य।

उनले भने, “दरबन्दी अनुसार नहुँदा समस्या परेकै हो, जस्तो नर्सको दरबन्दीमा नर्स नुहँदा उसले गर्ने काम रोकियो विशेषज्ञ चिकित्सक चाहिने ठाँउमा उनीहरु नहुँदा त्यो सेवा नुहने भयो, फरक त पर्छ।”

यसरी दरबन्दी अनुसारको जनशक्ति पूरा गर्न नसकिरहेका बेला सरकारले २ महिनाअघि देशभरका २ हजार २ सय ५ वटा उपस्वास्थ्य चौकीहरुलाई स्वास्थ्य चौकीमा स्तर वृद्धि गर्ने निर्णय गरेको थियो।

यसका अलावा अन्य स्वास्थ्य निकायहरुको पनि स्तर वृद्धिको अभियान नै चलाइएको छ।

पदपूर्ति

तर हालसम्म नामबाहेक अरु सेवाको स्तर वृद्धि नभएको गुनासोका माझ सरकारले पदपूर्तिका लागि करिब ८ हजार दरबन्दी स्वीकृत गरेको बताइएको छ।

जुन पर्याप्त नहुने भनाई छ, स्वास्थ्य सेवा विभागका महानिर्देशक शैलेन्द्र राज उप्रेतीको।

उनले भने, “त्यो दरबन्दी हामीलाई पुग्छ भन्ने हामीलाई पनि लागेको छैन्, जनसंख्याको वृद्धि र बसाइँसराईलाई हेरेर त्यसलाई पुनर्मूल्याङ्कन गर्नुपर्छ।”

भएका दरबन्दीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरु सुगम ठाँउमा काजमा जाने भएकाले विकट क्षेत्रमा स्वास्थ्यकर्मीहरु कम हुने गरेको बताइएको छ।

विगतमा रोगकै रुपमा रहेको काजमा बस्ने परम्परामा केही कडाई गरिएको भएपनि अन्त्य गर्न भने नसकिएको विभागले जनाएको छ।

हालैमात्र सरकारले बताएको स्वास्थ्य नीति २०७१ मा प्रति १० हजार जनसंख्या बराबर २३ जना स्वास्थ्यकर्मीसहित १ जना चिकित्सक उपलब्ध गराउने कुरा उल्लेख गरिएको छ।

नयाँ दरबन्दीको श्रृजना गर्न नसकेर भएका दरबन्दीमा पदपूर्ति गर्न नसके सरकारको यो योजना कागजमै सीमित रहने अधिकारीहरुको भनाई छ।