'सद्दामका सहायक ठानिएका अल डूरी मारिए'

  • 17 एप्रिल 2015
तस्वीर कपीराइट 1
Image caption रातो जुँगा भएका अल डुरीको टाउकोमा निकै वर्षदेखि ठूलो मूल्य तोकिएको थियो।

इराकी टेलिभिजनले, कुनै बेलाका सद्दाम हुसेनका सहायक र इराकमा इस्लामिक स्टेटको उदयका लागि जिम्मेवार मुख्य शक्तिका रुपमा परिचित इज्जत इब्राहीम अल डुरी मारिएको समाचार प्रसारण गरेको छ।

त्यसबारे बीबीसीले औपचारिक रुपमा पुष्टी भएको विवरण प्राप्त गरेको छैन तर अल डुरीको निधन भएको भनेर तस्वीर सहितका विभिन्न विवरणहरुको व्यापक प्रचार भइरहेको छ।  

उक्त समाचारको पुष्टि भएमा जीहादीहरुविरुद्ध ईराकी सरकारको कारबाहीलाई त्यसले ठूलो बल पुर्याउने छ।

तर विगतमा पनि अल डुरी मारिएका वा पक्राउ परेका भन्ने विभिन्न समाचारहरु आएका थिए।

विश्वसनीय

तर यो पछिल्लो विवरण हालसम्मको सबैभन्दा विश्वसनीय जस्तो देखिएको छ।

सद्दाम हुसेनको शासनको पत्तन पछि अत्यधिक खोजी भैरहेका व्यक्तिहरुको तस्वीर सहित अमेरिकाले जारी गरेको तासको गड्डीमा अल डुरी चिडीयाको बादशाह रहेका थिए।

गत बर्ष इराकीहरुलाई सकार विरुद्धको आक्रमणमा जीहादीहरुलाई साथ दिन आह्वान गरिएको एउटा अडियो रेकर्डिंग सार्वजनिक भएपछि उनी फेरी चर्चामा आएका थिए।

इस्लामिक स्टेटले गर्ने आक्रामक कार्वाहीहरु पर्दा पछाडिबाट संचालन गर्नमा अल डुरीले नै मुख्य भूमिका खेलिरहेको हुन सक्ने हल्लाहरु चलेका थिए।

किनकी आइएसको पछिल्लो सफलतामा सद्दामकालका अधिकारी तथा सैनिक कमाण्डरहरुको महत्वपूर्ण भूमिका रहेको ठानिन्छ।