आप्रवासी समस्यामा सघाउन इयुमाथि दबाब

  • 20 एप्रिल 2015
तस्वीर कपीराइट AP
Image caption ९० प्रतिशत आपरवासीहरु लिबियाबाट जहाज चढेर आउने गरेको इटलीले जनाएको छ

भूमध्यसागरमा आप्रवासीहरुको उद्धार कार्यमा कटौती गर्ने युरोपियन युनियनको निर्णयको समीक्षा गर्न युरोपेली नेताहरुमाथि दबाब बढिरहेको छ।

भूमध्यसागर हुँदै युरोप छिर्ने खोज्ने आप्रवासीहरुलाई निरुत्साहित गर्ने रणनीतिस्वरुप इयुले उद्धार कार्यमा गत वर्ष कटौती गरेको थियो।

इटलीका प्रधानमन्त्री माट्टे ओरेन्त्सीले यसै साताको अन्त्यतिर इयुको बैठक बोलाई आप्रवासीसम्बन्धी समस्यालाई प्राथमिकता दिइनुपर्ने बताए।

आप्रवासीहरु चढेको डुङ्गा भूमध्यसागरमा फेरि डुबेपछि ओरेन्त्सीले थप कदम चाल्न युरोपियन युनियनलाई आह्वान गरेका हुन्।

मानवतस्करी

उनले उक्त महादेशमा ‘मानवतस्करी’ तरंगको रुपमा रहेको बताए।

उक्त समस्याविरुद्ध युरोपियन युनियनको ऐक्यबद्धतामा कमी रहेको भन्दै उनले इयुको आलोचना गरे।

पछिल्लो दुर्घटनामा २० मिटर लामो डुङ्गामा ७ सय आप्रसवासीहरु रहेको र उनीहरुमध्ये २८ जनाको मात्र उद्धार गरिएको अधिकारीहरुले बताएका छन्।

तस्वीर कपीराइट EPA
Image caption आप्रवासीहरुलाई निरुत्साहित गर्ने भन्दै इयुले गत वर्ष उद्धार कार्यमा कटौती गरेको थियो

यो वर्षमात्र भूमध्यसागरमा १५ सय आप्रवासीहरु डुबेको आशंका गरिएको छ।

संकट

लिबियामा जारी राजनीतिक संकटको फाइदा उठाउँदै मानवतस्करहरुले त्यहाँबाट आप्रवासीहरुलाई डुङ्गा चढाएर भूमध्यसागर हुँदै युरोप प्रवेश गराउन थालेको बताइन्छ।

अफ्रिका र मध्यपूर्वको हिंसा वा आर्थिक समस्याका कारण मानिसहरु युरोप छिर्ने गरेका छन्।

आप्रवासीहरुको समस्यामा लिबिया महत्वपूर्ण कारण रहेको भन्दै इटलीका प्रधानमन्त्री ओरेन्त्सीले ९० प्रतिशत आप्रवासीहरु लिबियाबाट जहाज चढेर इटली पुग्ने गरेको बताए।

उनले उद्धार कार्यका निम्ति थप जहाज चाहिने विषय महत्वपूर्ण नभई लिबियाबाट जहाज हिँड्नबाट रोक्नु चाहिँ महत्वपूर्ण भएको जनाए।

आप्रवासी समस्याबारे छलफल गर्न इयुले बैठक डाक्नुपर्ने माग गर्दै ओरेन्त्सीले भने, “यस्तो सोच्नै नसकिने दुःखद घटनामा युरोपले अन्य बेला देखाउने ऐक्यबद्धता अहिले देखिएको छैन्।”