‘फ्लुबाट आतंकित हुनुपर्ने अवस्था छैन’

  • 21 एप्रिल 2015
तस्वीर कपीराइट Nepal Army
Image caption नेपाली सेनाले प्रकोपग्रस्त क्षेत्रमा हेलिकप्टर मार्फत चिकित्सक र औषधि पु-याएको छ

सरकारले अघिल्लो महिनाबाट जाजरकोटमा रुघाखोकी तथा ज्वरो जस्ता लक्षणहरु सहित फैलिएको फ्लु नियन्त्रणमा आउन थालेको भन्दै त्यहाँ आतंकित हुनुपर्ने अवस्था नरहेको दावी गरेको छ।

गृहमन्त्रालयले पत्रकार सम्मेलन गर्दै जाजरकोटमा आइतबारसम्म स्वास्थ्य परीक्षण गरिएका झन्डै ४२ सय बिरामीमध्ये २५ प्रतिशतमा मात्रै इन्फलुएन्जासँग मिल्दो जुल्दो लक्षण देखिएको बताएको हो।

प्रकोप प्रभावित क्षेत्रमा २४ जनाको मृत्यु भएको भनिएपनि हालसम्म उक्त प्रकोपकै कारण ५ जनाको मात्र ज्यान गएको पुष्टि भएको अधिकारीहरुको भनाइ छ।

प्रकोप प्रभावित एउटा गाउँका स्थानीय स्वास्थ्य अधिकारीले पनि सरकारले सञ्चांलन गरेको शिविरमा फ्लुका विरामीहरुको संख्या घट्दै गएको पाइएको बताएका छन्।

आलोचना

रुघाखोकी, ज्वरो र छाती दुख्ने जस्ता लक्षण सहितको फ्लुले जाजरकोटमा महामारीको रुप लिँदा कतिपय प्रकोप प्रभावित स्थानमा स्वास्थ्यकर्मी समेत पुग्न नसकेको भन्ने आलोचनाका माझ सरकारको पछिल्लो भनाइ आएको हो।

अधिकारीहरुका अनुसार जाजरकोटमा हाल १८ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मी र स्वयंसेवक गरी थप १ सय जना क्रियाशील रहेका छन्।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले हालसम्म स्वास्थ्य जाँच गरिएका ४१ सय मानिस मध्ये करीब २५ प्रतिशत बिरामीमा मात्र फ्लुसँग मिल्दो जुल्दो संक्रमण पाइएको बताए।

उनले भने, “सबैको प्रयोगशालामा नै परीक्षण गरिएको छैन, तर जतिको परीक्षण गरिएको छ त्यसमध्ये २५ प्रतिशतलाई मात्र फ्लु नै हो भन्ने प्रमाणित भएको छ।”

उनका अनुसार वैज्ञानिक परीक्षणका क्रममा संक्रमणका कारण हालसम्म ५ जनाको ज्यान गएको पुष्टि भएको छ।

भौगोलिक रुपले पिछडिएको जाजरकोटमा प्रतिदिन ४ देखि ५ जना मानिसले कालगतिले ज्यान गुमाउने गरेको सरकारी भनाइ छ।

रोग नियन्त्रणका लागि मुख्य सचिव लिलामणी पौडेलको संयोजनमा उच्चस्तरीय समिति गठन भएपछि सोमबार र मंगलबार गरी ६ वटा स्वास्थ्यकर्मीको टोली औषधि सहित जाजरकोट पुगेको गृहमन्त्रालयले बतायो।

शिविर

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले एक दर्जन गाविसमा खडा गरिएका शिविरमा दैनिक फ्लु सहित विभिन्न स्वास्थ्य समस्या लिएर दैनिक ८ सय व्यक्तिले उपचार गराइरहेको र जिल्लामा अझ केही चिकित्सक पठाउनुपर्ने अवस्था रहेको बताए।

तर गाविसमा खडा गरिएका स्वास्थ्य शिविरहरुमा बिरामीको चाप घट्न थालेको स्थानीय स्वास्थ्यकर्मीहरुले बताएका छन्।

प्रकोपबाट बढी प्रभावित भएको भनिएको पैंक गाविसका अहेब तरेन्द्रबहादुर थापाले शुरुका दिनहरुमा झन्डै ४ सय मानिसहरु स्वास्थ्य शिविरमा आउने गरे पनि अहिले खासै चाप नरहेको बताए।

उनले भने, “अहिले दिनमा ४०/५० जना मानिसहरु उपचारका लागि आउँछन्। त्यसमध्ये ५/१० जनामा फ्लुका लक्षणहरु पाइएको छ, उनीहरुमा पनि त्यस्तो कु्ुनै जटिलता देखिएको छैन।”

प्रकोप प्रभावित क्षेत्रमा नेपाली सेना तथा अन्य सुरक्षा निकायले चिकित्सक सहित औषधी पु-याउँदै आएका छन्।

गएको चैत्रको तेश्रो साता देखि नै जिल्लामा संक्रमण देखिएपनि रोग नियन्त्रणका लागि बेलैमा तत्परता नदेखाएको भन्दै सरकारको आलोचना हुँदै आएको छ।