‘जाजरकोटमा थप स्वास्थ्य टोली’

  • 21 एप्रिल 2015
Image caption स्वास्थ्य मन्त्रालयले औषधी अभाव हुन नदिने जनाएको छ

सरकारले जाजरकोटमा केही सातादेखि फैलिएको प्रकोप नियन्त्रणका निम्ति प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पठाउने कार्यमा तीव्रता दिइएको जनाएको छ।

सोमबार प्रभावित क्षेत्रका ५ ठाँउमा स्वास्थ्यकर्मीहरु पुर्याएको र त्यसलाई मंगलबार पनि निरन्तरता दिइने अधिकारीहरुले बताएका छन्।

तीन साताअघि शुरु भएको रोगका कारण २४ जनाको मुत्यु भएको बताएको छ।

तर बिरामीको उपचारका लागि पुगेका चिकित्सकहरुले गाउँ छाड्दा रोग नियन्त्रणमा कठिनाइ आएको स्थानीय प्रशासकले बताएका छन्।

त्रासदी

अर्छेनी गाविसको केही वडामा देखिएको ज्वरो र रुघाखोकी तीन सातामा जाजरकोटका ८ वटा गाँउ विकास समितिमा फैलिएको बताइएको छ।

शुरुमा भाइरल भनिएको उक्त रोगका बिरामीमध्ये केहीमा सिजनल फ्लु भएको पुष्टि समेत भएपछि त्रासदी बढेको हो।

हाल प्रभावित ठाँउका गाँउहरुमा घर घरै बिरामीहरु भएको स्थानीयबासीको भनाई छ।

बिरामीको उपचारमा ध्यान नदिएको भन्दै भईरहेका आलोचनामाझ सरकारले राजधानीदेखि नै चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुर्याएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालको स्वास्थ्यकर्मीको टोलीले जाजरकोटमा प्रकोप प्रभावित क्षेत्रमा पुगेर उपचार थालेको बताइएको छ।

स्वास्थ्यकर्मी जाने क्रम मंगलबार पनि जारी रहने रोग नियन्त्रणका लागि भएका कामहरुको संयोजन गरिरहेका सरकारका मुख्यसचिव लीलामणी पौडेलले बताए।

उनले भने, “स्वास्थ्यकर्मीहरुको अपुग भएको ठाँउमा हुने गरी र पहिलेदेखि उपचारमा रहेर थाकेकाहरुलाई फिर्ता गर्ने गरी मंगलबार थप ३ वटा टोली जान्छ।”

प्रभावित

नेपाली सेनाको टोलीले अर्छेनीमा, सशस्त्र प्रहीको टोलीले कोत्राङमा, नेपाल प्रहरीको टोलीले पैंकमा र स्वास्थ्य मन्त्रालयका टोलीहरु ढिमे र टालेगाँउमा पुगेर उपचारको काम गरिरहेको बताइएको छ।

पछिल्लो टोलीसहित करिब १ दर्जन ठाँउहरुमा चिकित्ससहितको टोलीले उपचार गरिरहेको बताइएको छ।

थप चिकित्सकहरुको उपस्थितिले रोग नियन्त्रणको आशा बढाएको भएपनि प्रभावित क्षेत्रमा केही दिनअघि पुगेका कतिपय स्वास्थ्यकर्मीहरुको टोली थाहा नै नदिइ फर्कने गरेकाले उपचार प्रभावित हुने गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए।

उनले भने, “स्वास्थ्यकर्मीहरुको अहिले पूर्ति त भईरहेको छ तर अहिलेसम्म के देखिएको छ भने खटिएको टोली गएको स्थानमा नबसिदिने र गएको १/२ दिन मै फर्किने र फर्किदा जिल्लासँग समन्वय नगर्ने गरेकोले प्रभावकारी उपचारमा केही कठिनाइ आएको छ।”

सरकारले रोग नियन्त्रणका लागि भइरहेका कामहरुको समन्वय गर्न र आवश्यक्ता अनुसार औषधी र स्वास्थ्यकर्मी पुर्याउन जाजरकोट सदरमुकाममा एउटा र अर्को गृहमन्त्रालयमा नियन्त्रणकक्ष स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ।

औषधी र स्वास्थ्यकर्मी ल्याउन र लैजान सजिलोका लागि त्यही क्षेत्रमा रहने गरी एउटा हेलिकप्टर राखिने बताइएको छ।