'दक्षिण अफ्रिकामा शान्ति कायम गर्न सेना'

  • 21 एप्रिल 2015
हिंसा तस्वीर कपीराइट AFP
Image caption आक्रमणको सो घटनाको भिडियो एकजना स्थानीय पत्रकारले खिचेका थिए।

दक्षिण अफ्रिकामा यसै महिना कम्तीमा सात जनाको ज्यान जानेगरी भएको आप्रवासीहरुविरुद्धको हिंसाबाट प्रभावित क्षेत्रहरुमा सेना परिचालन गर्न लागिएको छ।

रक्षामन्त्रीले गाउटेंग र क्वाजुलु नाटाल प्रान्तका केही इलाकामा मंगलबार रातीबाटै सेनाले गस्ती गर्ने बताइन्।

ती मन्त्रीले शान्ति सुव्यवस्था कायम राख्‍न प्रहरीले सेनाको सहयोग मागेको बताएका छन्।

रक्षा मन्त्री नोसीभीवे मापीसा-नकुलाले भनिन्, सेनालाई जोहानेसबर्ग लगायत हिंसा प्रभावित र अस्थीर भनिएका क्षेत्रहरुमा पठाइने छ।

जिम्मेवारी

तर उनले सो कार्यका लागि कति जना सैनिकहरु परिचालन गरिनेछ भन्ने चांहि उल्लेख गरेकी छैनन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन सेनाको सहयोग मागेपछि त्यस्तो व्यवस्था गर्न लागेको रक्षा मन्त्रीले बताइन्।

देशको सशस्त्र सेनालाई सडकमा उतार्ने सरकारको निर्णयलाई धेरै मानिसहरुले सकारात्मक रुपमा लिने आफुले आशा गरेको रक्षामन्त्रीको भनाइ थियो।

पत्रकारहरुसंग कुरा गर्दै उनले भनिन्, सेनाले प्रहरीको जिम्मेवारी लिने छैन, तर शान्ति सुव्यवस्था कायम गर्न सहयोग भने अवश्य पु-याउने छ।

स्थानीय समय बेलुकीको छ बजे देखि जोहानेसबर्गको उत्तरमा अवस्थित नगर एलेक्जान्ड्राबाट सेना परिचालित हुनेछ।

त्यहां सप्ताहान्तमा मोजाम्बीकका आप्रवासी कामदार इमानुएल सिथोले मारिएका थिए।

उनको हत्याको सम्बन्धमा मंगलबार प्रहरीले चारजना सन्दिग्धहरुलाई अदालतमा प्रस्तुत गरेको थियो।

परिचालन

ती अभियुक्तहरुलाई आफ्नो बयान दर्ज गराउने अवसर नदिइकनै पुर्पुक्षका लागि हिरासतमा राख्‍न आदेश भएको छ।

दक्षिण अफ्रिकामा प्रजातान्त्रिक अभ्यास आरम्भ भएयता सेना परिचालन गरिएको यो पहिलो पटक भने हैन।

सन् २००८ ताका विदेशी आप्रवासीहरु विरुद्ध भएको हमलामा ६३ जनाको ज्यान गएको बेला र सन् २०१२ मा हिंसात्मक विरोध प्रदर्शनहरुपछि सेना परिचालन भएको थियो।

सरकारले नौसयजना भन्दा बढी आप्रवासी कामदारहरुलाई स्वेच्छिक तवरले उनीहरुको देश फिर्ता पठाइएको जनाएको छ।

प्रहरीले हाल अवस्था शान्त देखिएको र देशैभरीबाट नयां हिंसात्मक हमलाहरुको सूचना प्राप्त नभएको बताएको छ।

आप्रवासीहरु विरुद्धको पछिल्लो हमलापछि अन्य अफ्रिकी मुलुकहरुले दक्षिण अफ्रिकाको आलोचना गरेका छन्।