बस दुर्घटनामा १७ भारतीयको मृत्यु

  • 22 एप्रिल 2015
तस्वीर कपीराइट bbc
Image caption दुर्घटना लगत्तै सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो

काठमाण्डौंबाट भारतीय शहर गोरखपुरतर्फ गइरहेको दुई तले पर्यटक बस धादिङ्ग जिल्लाको झ्याप्ले खोला भनिने ठाउँ नजिकै राजमार्गबाट तल खसेपछि १७ भारतीय यात्रुको मृत्यु भएको उद्धारकार्यमा सामेल सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अजय छत्कुलीले जनाएका छन्।

सो दुर्घटनामा मारिनेहरुमध्ये ९ महिला र ८ पुरुष रहेको उनले बताए। बीस भन्दा बढी घाईते भएका छन्।

घाइतेहरुलाई राजधानीको अस्पतालमा पठाइएको छ।

उक्त बसमा काठमाण्डौंमा पशुपति दर्शन गरी फर्कंदै गरेका यात्रुहरु रहेको ठानिएको छ।

“प्रारम्भिक जानकारी अनुसार बस असन्तुलित भइ खसेको भन्ने खबर आएको छ,” धादिङ्गका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने।

बुधबार बिहान साढे सात बजेतिर उक्त बस बाटोबाट करीब डेढ सय मिटर तल खसेको बताइएको छ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरीका करीब १५० जना उद्धारमा खटिएका थिए। ती मध्ये विपद व्यवस्थापनमा तालिमप्राप्त टोलीपनि सामेल रहेको छतकुलीले बताए।