यमनमा विद्रोहीहरु विरुद्ध पुन: हवाई हमला

  • 22 एप्रिल 2015
तस्वीर कपीराइट AFP

यमनको तेस्रो ठूलो शहर ताएजमा रहेका हुथी विद्रोहीहरुमाथि पुन: हवाई हमला आरम्भ गरिएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ।

त्यसअघि उक्त गठबन्धनले ति विद्रोहिहरु विरुद्धको सैनिक अभियान अन्त्य भएको घोषणा गरेका थिए।

राष्ट्रपति अब्दुरअबु मन्सुर हादी प्रति बफादार सेनाको ताएज शहर बाहिर अवस्थीत एउटा मुख्यालयमा विद्रोहीहरुले कब्जा जमाएपछि ति हमलाहरु भएका हुन्।   मंगलबार रियाधले यमनमा आफू नेतृत्वको गठबन्धनले गरेको एक महिना लामो सैनिक अभियानले घोषित उद्देश्य हासिल गरेको बताएको थियो।

चेतावनी

तस्वीर कपीराइट epa

तर आवश्यक परेको बेला फेरि हुथी विद्रोहीहरु विरुद्धका हमला शुरु हुन सक्ने चेतावनी पनि दिइएको थियो।

बुधबार विहानै विद्रोही लडाकुहरुले ताएज शहरको उत्तरमा रहेको सेनाको एउटा ब्रिगेडको मुख्यालयलाई कब्जामा लिएका थिए।

त्यस क्रममा भएको लडाईंमा दर्जनौ मारिएका वा घाइते भएका हुन सक्ने एकजना सैनिक अधिकारीले एएफपी समाचार एजेन्सीलाई बताएका छन्।

हाल जेद्दामा रहेका बीबीसी सम्बददाता जेरमी बोवेनलाई साउदी कुटनीतिक स्रोतहरुले बताए अनुसार, हुथीहरुले ताएजमा आफूहरुको वचन तोडेकाले हवाई हमलाहरु पुन: शुरु गरिएको हो।

प्रस्ताव

जेरमी बोवेन भन्छन्, गत एप्रील १४ तारिखमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले हुथीहरुप्रति तिनीहरुले हतियार र राजधानी साना लगायत आफूले कब्जामा लिएका भूभाग त्याग्नु पर्ने मागहरु प्रस्तुत गर्दै एक प्रस्ताव पारित गरेको थियो।

साउदीहरुले आफूले उक्त प्रस्तावका सकेसम्म धेरै मागहरु पुरा गराउने प्रयास गरिरहेको बताएका छन्।

तस्वीर कपीराइट AP

यमनको दोस्रो ठूलो शहर एडन, लाहजको प्रान्तीय राजधानी हुटा र डालेह नगरमा पनि भिडन्तहरु भएका बताइएको छ।

संयुक्त राष्ट्र संघले भनेको छ गत मार्च १९ तारिख देखि यता भएका हवाई हमलाहरु, स्थल संघर्ष र जीहादी उग्रवादीहरुले गरेका आक्रमणमा कम्तीमा ९४४ जनाको ज्यान जानुका साथै तीनहजार भन्दा बढी घाइते भएका छन्।