‘नयाँ औषधिले इबोला संक्रमित बाँदरलाई निको’

  • 23 एप्रिल 2015
तस्वीर कपीराइट AP
Image caption इबोला भाइरसका कारण हालसम्म १० हजारभन्दा बढी मानिसहरुको ज्यान गइसकेको बताइन्छ

अमेरिकास्थित वैज्ञानिकहरुले एउटा प्रयोगात्मक औषधिको प्रयोगले इबोला भाइरसबाट संक्रमित तीनवटा बाँदरहरु निको भएको बताएका छन्।

टीकेएम-इबोला-गिनि नाम दिइएको उपचार अहिले पश्चिम अफ्रिकामा महामारी निम्त्याएको इबोला भाइरसको मकोना स्ट्रेन अर्थात नश्ल नियन्त्रणमा प्रभावकारी देखिएको बताइएको छ।

२८ दिनसम्मको उपचारपछि तीनवटा बाँदरहरु स्वस्थ्य भएका थिए भने उपचार नगरिएका तीनवटा बाँदरहरु ९ दिनभित्रै मरेका थिए।

तर उक्त औषधिको प्रभावकारिता मानिसहरुमा पुष्टि भईनसकेको भन्दै वैज्ञानिकहरुले त्यसबारे सचेत गराएका छन्।

परीक्षण

अहिलेसम्म त्यस्तो कुनैपनि उपचार वा खोप छैन्, जसले मानिसमा इबोला भाइरसविरुद्ध काम गरेको पुष्टि भएको होस्।

नेचर जर्नलमा प्रकाशित अध्ययनका वरिष्ठ लेखक तथा युनिभर्सिटी अफ टेक्ससका वैज्ञानिक थोमस गेइस्बर्टले भने, “इबोला जायर भाइरसको मकोना नश्लविरुद्ध उपचारले बचाउ गरेको देखाएको यो नै पहिलो अध्ययन हो।”

मानिसहरुमा गरिएको प्रयोगात्मक औषधिको परीक्षणका नतिजाहरु यो वर्षको मध्यपछि आउने अपेक्षा गरिएको छ।

टेकमाइरा फर्मास्युटिकल्सद्वारा उत्पादित उक्त औषधि अलि अलि परिवर्तन गरेर इबोलाको जुनसुकै नश्लविरुद्ध तयार पार्न सकिने गेइस्बर्टले बताए।

अनि आठ हप्ताभित्र उक्त औषधि बनाउन सकिने उनको भनाई थियो।

संक्रमण

उक्त औषधिले एक किसिमको जिनमा काम गर्छ, जुन जिनले इबोला भाइरसको पुनः उत्पादनलाई रोक्दछ।

पछिल्लो प्रयोगात्मक औषधि उत्पादनको दुई महिने समयावधिलाई अर्को प्रयोगात्मक औषधि 'जीम्याप' को उत्पादनको कयौं महिना लामो समयावधिसँग तुलना गरिएको छ, जसले इबोला भाइरसका जुनसुकै नश्लविरुद्ध काम गर्न सक्छ।

तर पछिल्लो औषधिले इबोला भाइरसको एउटा नश्लविरुद्ध मात्र काम गरेको देखिएको छ।

सन् २०१४ को मार्च महिनायता इबोला भाइरसका कारण लाइबेरिया, गिनी, सियरा लियोन, नाइजेरिया, अमेरिका र मालीमा गरी १० हजार ६ सय २ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ।