आर्मेनियाद्वारा ‘आम नरसंहार’ को सम्झना

  • 24 एप्रिल 2015
तस्वीर कपीराइट Getty
Image caption आर्मेनियामा भएका हत्यालाई आम नरसंहार भनिने गरिएकोमा टर्कीले आपत्ती जनाउने गरेको छ

एक सय वर्ष अगाडी आफ्ना लाखौं नागरिकहरु अट्टोमन टर्कहरुद्वारा मारिएको सम्झना गर्दै आर्मेनीयामा श्रद्धान्जली कार्यक्रमहरु भैरहेका छन्।

आर्मेनियालीहरुले उसबेला आफ्ना झन्डै १५ लाख नागरिकहरुको हत्या गरिएको बताउँदै आए पनि टर्कीले उक्त संख्यालाई अस्वीकार गर्दै आएको छ।

श्रद्धान्जली समारोहमा बोल्दै फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँदले ती हत्यालाई, उनकै शब्दमा, अार्मेनियाली नरसंहारको रुपमा मान्यता दिइनुपर्ने बताए।

टर्कीले उसबेलाको घटनालाई नरसंहार भनिएकोमा आपत्ती जनाउँदै आएको छ।

सम्झना

आर्मेनियालीहरुको आम हत्या भएको सयौँ वर्ष पुगेकोमा पीडितहरुको सम्झना गर्दै राजधानी यारेभान भन्दा केही बाहिर आयोजित कार्यक्रममा फ्रान्स र रुसका राष्ट्रपति सहभागी भए।

उक्त समारोहमा आर्मेनियाका राष्ट्रपतिले उपस्थित पाहुनाहरुलाई धन्यवाद दिंदै उक्त घटनालाई आफ्नो देशले कहिल्यै बिर्सन नसक्ने बताए।

उक्त शतवार्षिकीको चिन्हस्वरुप बनाइएको बैजनी रंगको एउटा फूलको आकृति यारेभानका पसलहरुका झ्याल, र गाडीका सिसामा राखिएको छ भने मानिसहरुले पिन बनाएर लगाएको देखिन्छ।

आफ्नो सम्बोधनमा फ्रेन्च राष्ट्रपति फ्राँस्वाँ ओलाँदले आर्मेनियालीहरुले खेपेको उक्त दुखान्त घटना आफूहरुले कहिल्यै नबिर्सने बताए।

उनले भने, “यारेभानको सन्देश शान्ति हो सधैँ शान्ति। ज्यान गुमाएकाहरुको निम्ति र बाँचिरहेकाहरुको निम्ति पनि शान्ति। यो क्षेत्रकै शान्ति र मध्यपूर्वको पनि शान्ति, अनि आर्मेनियामा भएको आम नंरसहारको स्विकारोक्ति।”

रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले आम हत्याको औचित्य कसैगरी पुष्टि गर्न नसकिने भन्दै आर्मेनीयासँगै आफुहरु पनि शोकमा डुबेको बताए।

खन्डन

टर्कीले ती हत्याहरुलाई आम नरसंहार भनिने गरेकोमा आपत्ती जनाउँदै आएको छ र सो प्रसङ्गकै कारण दुई देशबीचको सम्बन्ध तिक्तापूर्ण रहँदै आएको छ।

टर्कीले उसबेला ज्यादतीहरु भएपनि इसाई आर्मेनियालीहरुको विनाश गर्ने गरी श्रृखंलाबद्ध रुपमा कुनै कार्वाही नगरिएको बताउँदै आएको छ।

त्यतिबेलाको युद्धमा कैयौं निर्दोष मुसलमान टर्कहरुले पनि ज्यान गुमाएको उसको भनाइ छ।

उक्त घटनाको स्मरण गर्दै शुक्रबार टर्कीमा पनि एउटा श्रद्धान्जली कार्यक्रम गरिंदैछ, जसले आर्मेनियालीहरुको दुख बाँडने टर्कीका प्रधानमन्त्री एहमट डाभुटुलुले बताए।

टर्कीले शुक्रबार नै ग्यालीपोली लडाइंको सयौं वर्षगाँठ मनाउँदैछ।

त्यसलाई लिएर आर्मेनियाली राष्ट्रपतिले यारेभानमा भैरहेका स्मृति कार्यक्रमहरुबाट ध्यान अन्यत्र मोड्न खोजेको टर्कीमाथि आरोप लगाएका छन्।