'भूकम्पका कारण एकहजार बढीको मृत्यु'

  • 25 एप्रिल 2015
भूकम्प
Image caption भूकम्पका कारण देशका २८ जिल्ला प्रभावित भएको अधिकारीहरुले जनाएका छन्

शनिबार दिउँसो गएको शक्तिशाली भूकम्पका कारण देशभरि एकहजार जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

सबैभन्दा बढी काठमाण्डूमा ५२४ जना र बाँकी अरु जिल्लाहरुमा हताहति भएको गृह मन्त्रालयले जनाएको छ।

भक्तपुर, ललितपुर, काभ्रे र धादिङमा कैयौंको ज्यान गएका विवरणहरु प्राप्त भएका छन्।

क्षतिको विवरण संकलन भैरहेको र उद्धार कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ।

हताहतिको संख्या अरु बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्।

आपत्कालिन स्थिति

भूकम्प प्रभावित जिल्लाहरुलाई संकटकालिन क्षेत्र घोषणा गरिएको छ।

तत्काल उद्धारको काम संचालन गर्न ५० करोड रुपियाँको राहत कोष खडा गरिएको सूचना तथा सन्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले बताए।

सुरक्षा निकायले काठमाण्डू, भक्तपुर र ललितपुरका १३ स्थान सहित प्रत्येक प्रभावित जिल्लामा अापत्कालिन समन्वय केन्द्र स्थापना गर्न लागेको पनि उनले बताए।

गृह सचिवको नेतृत्वमा केन्द्रिय कमान्ड पोष्ट खडा गरिने पनि उनले जानकारी दिए।

स्वदेश फर्कँदै

यसैबीच हाल बैंककमा रहेका प्रधानमन्त्री सुशील कोइराला आइतबार बिहान नेपाल फर्कने भएका छन्।

बीबीसी नेपाली सेवासंग कुरा गर्दै उनका निजी चिकित्सक प्रा. डा. करवीरनाथ योगीले स्वास्थ्य परीक्षणको काम थाती राखेर कोइराला छिट्टै स्वदेश फर्कन लागेको बताए।

शनिबार बेलुकासम्मको कुनै विमान नपाइएकाले आइतबार बिहान प्रधानमन्त्री कोइराला काठमाण्डौ फर्केन उनले जानकारी दिए।

इन्डोनेसियाको जकार्तामा भएको अफ्रो एसियाली सम्मेलनमा भाग लिएपछि कोइराला स्वास्थ्य परीक्षणकालागि बैङ्कक पुगेका थिए।

भारतबाट राहत सामग्री, औषधि तथा चिकित्सकहरु सहितको एक टोली शनिबार अबेर काठमाण्डौ आइपुगेको थियो।

विवरण

१९ औं शताब्दीमा बनेको धरहरा भत्कँदा कैयौं मानिसहरु दृश्यावलोकन गर्न गएका कैयौं मानिसहरुको भग्नावशेषमा पुरिएर ज्यान गएको थियो।

बीबीसीसंग कुरा गर्दै सूचना तथा सन्चार मन्त्री डा मिनेन्द्र रिजालले सरकारले भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिरहेको र उद्धार तथा राहत कार्य तत्काल सन्चालन गरिएको जनाए।

उनले अन्तर्राष्ट्रिय सहायताकालागि पनि अपील गरेका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पद्वारा नेपाल तथा भारतमा भएको क्षतिकाबारे सूचना संकलन भैरहेको र भारत सरकार सहयोगकालागि तत्पर रहेको जनाएका छन्

केही समाचारहरुमा सगरमाथा क्षेत्रमा आएको हिमपहिरोमा पर्वतरोहीहरु चेप‌िएको हुनसक्ने जनाइएको छ।

उत्तरी भारत र पाकिस्तानमा पनि भूकम्पको धक्काहरु महसुस गरिएको थियो।

भूकम्पबाट ती क्षेत्रमा भएको क्षतिको थप विवरण प्राप्त भैसकेको छैन।