डोरी, भ-याङ् हिमपहिरोले बगायो

  • 26 एप्रिल 2015
avalanche
Image caption हिमपहिरोका कारण कैयौं आरोहीहरु अझै हराइरहेका छन्

शनिबार गएको भूकम्पका कारण सगरमाथा क्षेत्रमा हिमपहिरो आएपछि आरोहणमा प्रयोग गरिने डोरी तथा भ-याङ्हरू हराइरहेका र त्यसले आरोहीहरू अलपत्र परेका उद्धारमा खटिएका उद्धारकर्मीहरुले बताएका छन्।

भूईंचालोपछि आएका धक्काहरूका कारण आधारशिविर भन्दा माथिको भेगमा थप हिमपहिरो गएको केही आरोहीहरूले सामाजिक सन्जाल ट्वीटर मार्फत जनाएका छन्।

त्यस्तै स्थिति सगरमाथा वरिपरि रहेका अन्य टाकुराहरूमा पनि हुन सक्ने चिन्ता आरोहणविदहरूको छ।

अधिकारीहरूले सगरमाथा आधार शिविरबाट झण्डै ६० जनाको उद्धार गरिएको बताएका छन्।

सम्पर्कविहीन

शनिबारको हिमपहिरोमा परेर १७ आरोहीहरूको ज्यान गएको थियो भने अन्य थुप्रै अझै सम्पर्कविहीन रहेका छन्।

“खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ र सो कामलाई सगरमाथा वरिपरि रहेका अन्य टाकुराहरूसम्म विस्तार गरिएको छ,” पर्यटनमन्त्री दिपकचन्द्र अमात्यले बीबीसीलाई बताए।

“मौसमले त्यति साथ नदिएपनि हामीले हेलिकप्टरहरू सो क्षेत्रमा पठाइरहेका छौं,“ मन्त्री अमात्यले भने।

शनिवार हिमपहिरो गएको बेला सगरमाथाको आधारशिविर तथा त्यस वरिपरिका क्षेत्रमा सैयौं मानिस रहेका बताइएको छ।

मृत्यु

गत वर्ष सगरमाथामा गएको ठूलो हिमपहिरोमा परी १६ जना सहयोगी आरोहीहरूको मृत्यु भएको थियो। सो घटनापछि सम्पूर्ण आरोहणदलहरू सगरमाथा नचढी फर्केका थिए।

त्यसले नेपालको पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्नसक्ने डरकाबीच सरकार तथा निजी क्षेत्रले पर्यटकहरूलाई आकर्षण गर्न केही पहल गरेका देखिएको थियो।

तर भूकम्पका कारण सगरमाथा क्षेत्रमा गएको हिमपहिरोले सो प्रयासमाथि तुषारापात गरिदिएको भन्दै हिमाल आरोहण सम्बन्धी व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।