‘मृतकको संख्या २४ सय नाघ्यो’

  • 26 एप्रिल 2015
तस्वीर कपीराइट Getty
Image caption भग्नावशेषमा अझै कयौं मानिसहरु पुरिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्

राष्ट्रीय आपतकालीन कार्य संचालन केन्द्रले जनाए अनुसार भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या चौबीस सय नाघेको छ।

घाइतेको संख्या झण्डै ६ हजार पुगेको बताइएको छ।

अधिकारीहरुका अनुसार मृतकहरुको संख्या यस प्रकार छ: काठमाण्डूमा ७६६, भक्तपुरमा २१९, ललितपुरमा १५२, सिन्धुपाल्चोकमा २२८, गोर्खामा १६०, नुवाकोटमा १६०, रसुवामा १५०, काभ्रेमा १४० र धादिंगमा १९९ जना।

भूकम्पपछिको राहत उद्धारका सम्बन्धमा सर्वदलीय बैठक हुन लागेको बताइएको छ।

परिचालन

आइतबार बिहानैदेखि उद्धार तथा राहत कार्यमा तीव्रता दिन लागिएको अधिकारीहरुले बताएका छन्।

ढकालले पीडितहरुको उपचार एवं उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मीसहितका टोलीहरु परिचालन गरिएको बताए।

गृहमन्त्रालयका अनुसार राजधानीभन्दा बाहिर भूकम्पले क्षति पुर्याएका विकट ठाउँहरुमा हेलिकोप्टर र स्थलमार्गबाट उद्धारका निम्ति सुरक्षाकर्मी र उद्धारकर्मीहरु परिचालन गर्न लागिएको छ।

ढकालले भारतीय टोलीलाई भक्तपुरको प्रभावित क्षेत्रमा परिचालन गरिएको जनाए।

तस्वीर कपीराइट epa
Image caption त्रासका कारण हजारौं मानिसहरुले शनिबार रात खुला आकासमुनि काटेका छन्

उनका अनुसार प्रभावित क्षेत्रमा शनिबार रातभरि उद्धार तथा राहत कार्य जारी राखिएको थियो।

भग्नावशेष

अधिकारीहरुले भग्नावशेषमा अझै मानिसहरु पुरिएकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

भूकम्पका कारण सगरमाथा आधार शिविरमा हिमपहिरोमा परी १० जनाको ज्यान गएको ढकालले बताए।

थप झटकाको त्रासका कारण हजारौं मानिसहरुले खुला आकासमुनि रात बिताएको बताएका छन्।

शनिबार राती पटक-पटक र आइतबार दिउँसो पनि झटकाहरु महसुस गरिएको छ।

आइतबार दिउँसो ६ दशमलव ७ रिक्टर स्केलको भूकम्प गएपछि मानिसहरुमा भागदौड मच्चिएको थियो।

अधिकारीहरुले यो भन्दा ठूलो भूकम्प आउँदैछ भन्ने हल्लामाथि विश्वास नगर्न र सुरक्षित रहन अपील गरेका छन्।