'खराब मौसमले उद्धारमा कठिनाइ'

  • 28 एप्रिल 2015
तस्वीर कपीराइट Other
Image caption शनिबारको भूकम्पबाट ३९ वटा जिल्ला प्रभावित भएको सरकारले बताएको छ

भूकम्पबाट नराम्ररी प्रभावित कतिपय जिल्लाहरुमा हेलिकप्टरमार्फत उद्धारकर्ता पठाउने प्रयासलाई मंगलबार वर्षात र खराब मौसमले प्रभावित पारेको अधिकारीहरुले बताएका छन्।

मंगलबार साँझसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या झन्डै ४७ सय पुगेको छ भने झन्डै १० हजार घाइते भएका छन्।

उद्धार कार्यमा खटाइएका हेलिकप्टर मौसमी प्रतिकूलताका कारण अवतरण गर्न नसक्दा रसुवा, सिन्धुपाल्चोक सहितका जिल्लामा थप सुरक्षाकर्मी खटाउन नसकिएको गृह मन्त्रालयले जनाएको छ।

मंगलबार दिउँसो रसुवामा आएको हिमपहिरोमा कैयौँ हराइरहेको बताइएको छ।

कठिनाइ

गोर्खा बार्पाक केन्द्रबिन्दु बनाएर शनिबार आएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्पबाट नराम्ररी प्रभावित कतिपय स्थानमा खराब मौसमका कारण मंगलबार पनि उद्धारमा टोली पठाउन नसकिएको अधिकारीहरुले बताएका छन्।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उद्धार कार्यमा १९ वटा हेलिकप्टर खटाइएपनि खराब मौसमका कारण कतिपय स्थानमा सुरक्षाकर्मी पुग्न नसकेको बताए।

उनले भने, “मौसम खराब भएकाले केही हेलिकप्टर त्यत्तिकै फर्किएर आए, खराब मौसमले उद्धार कार्य र राहत वितरण दुवै प्रभावित भएको छ।”

आइतबार र सोमबारको तुलनामा मंगलबार केही कम पराकम्पनहरु महसुस गरिएपनि वर्षा र पहिरोका कारण कतिपय प्रभावित स्थलसम्म सुरक्षा निकाय पुग्न सकेका छैनन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी जगदिशचन्द्र पोख्रेलले खराब मौसमका कारण हवाइ मार्गबाट उद्धार कार्य अघि बढाउन नसकिएका स्थानमा पैदल फौज पठाउने तयारी भएको बताए।

नेपाली सेना र भारतीय सेनाको हेलिकप्टर मार्फत ७ सय भन्दा बढी घाइतेहरुको उद्धार गरिएको बताइएको छ।

नेपाली सेनाले मंगलबार झन्डै ५ हजार किलोग्राम राहत सामग्री ढुवानी गरेको जनाएको छ।

उद्धारमा खटिएको सरकारी निकायले भूकम्प प्रभावितहरुका निम्ति एक हप्ताका लागि झन्डै ३५ लाख लिटर पानी, १४ लाख प्याकेट सुख्खा खानेकुरा चाहिने जनाएका छन्।

असर

संयुक्त राष्ट्रसंघले भूकम्पबाट ३९ जिल्लाका मानिसहरु प्रभावित भएको जनाएको छ।

एउटा पत्रकार सम्मेलनमा नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक जेइमी मकगोल्डरिकले भने, “यस विपत्तीबाट मानवीय रुपमा झन्डै ८० लाख नेपाली प्रभावित भएका छन् र सबैभन्दा बढी प्रभावित ११ जिल्लाहरुमा २० लाख मानिसहरु बसिरहेका छन्। हाम्रो लागि उनीहरु सबैभन्दा बढी प्राथामिकता हुन्।”

शितल निवासमा पाल टाँगेर रात बिताइरहेका राष्ट्रपति रामवरण यादवले मंगलबार गृहमन्त्रालय पुगी सरकारसँग क्षतिको जानकारी लिएका थिए।

सरकारले प्रभावकारी रुपमा राहत वितरण नगरेको भन्दै कतिपय स्थानमा विरोध प्रदर्शनहरु पनि भएका छन्।

सरकारले प्रत्येक मृतकका परिवारलाई ४० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको छ।