भूकम्पले मर्माहत बनाएको छ: प्रधानमन्त्री

  • 28 एप्रिल 2015
तस्वीर कपीराइट Reuters
Image caption भूकम्पबाट प्रभावितहरुलाई राहतका लागि विश्वभरबाट ठूलो मात्रामा सहयोगहरु आइरहेका छन्।

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प गएको तीन दिनपछि देशवासीका नाममा सम्बोधन गर्दै उक्त अकल्पनीय र अप्रत्यासित घटनाप्रति दुख व्यक्त गरेका छन्।

उनले सरकारको उद्धार र राहतको प्रयास जारीरहँदा विपदमा परेकाहरुप्रति देशभित्र र बाहिरबाट आइरहेका सहानुभूति र प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्।

भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा सरकारले ३ दिनसम्म शोक मनाउने र देशभित्रका सरकारी र कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

सहानुभुति

“स्वेच्छाले यस्तो परोपकारी कार्यमा हात बढाउनु हुने समस्त महानुभावहरुप्रति म कृतज्ञता प्रकट गर्दछु,” सम्बोधनमा उनले भने, “पुनर्निर्माणको चरणमा पनि हामीलाई मित्रराष्ट्र र विकासका साझेदारहरुबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा लिएको छु।”

भूकम्प गएको दिन प्रधानमन्त्री देशबाहिर थिए।

उनी अघिल्लो साता इण्डोनेशियाको जकार्तामा भएको एसिया-अफ्रिका शिखर सम्मेलनमा भाग लिन गएका थिए।

त्यहाँबाट फर्किएलगत्तै आफूले छिमेकी देशका राष्ट्रप्रमुखसँग कुरा गरेको र उनीहरुले दिएको सहयोगको आफूले उच्च मूल्यांकन गरेको बताए।

चुनौती

भूकम्पले तहसनहस पारेका ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक र धार्मिक महत्वका सम्पदाहरुको सरकारले क्रमिक रुपमा पुननिर्माण गरिने सरकारले बताउँदै आएको छ।

प्रधानमन्त्रीले देशमा विकासको कामले विस्तारै गति लिन लागेको बेला यो विपद्ले थप चुनौती बढाएको बताए।

त्यसका लागि अहिलेको संकट पार गरेर सबैको सामूहिक प्रयासले विकासको कामलाई पुन: गति दिनुपर्ने पनि उनले बताए।