१५ बर्षीय किशोरलाई जीवितै उद्धार

  • 30 एप्रिल 2015
ऋषि तस्वीर कपीराइट afpgetty
Image caption यसअघि अर्का एकजना युवा ऋषि खनाललाई ८२ घन्टा पछि जीवितै उद्धार गरिएको थियो

गत शनिबार गएको भूकम्पमा परी भत्किएको एक घरमा पुरिएका एक किशोरलाई बिहीबार दिउँसो जीवितै उद्धार गरिएको छ।

नुवाकोटका १५ वर्षीय पेम्बा लामालाई काठमाण्डौ बसपार्कस्थित एउटा होटलको भग्नावशेषबाट बिहीबार दिउँसो जीवितै निकालिएको थियो।

झण्डै १२० घन्टासम्म पानी पनि पिउन नपाएका लामा बोल्न सक्ने अवस्थामा भेटिएका बताइएको छ।

सशस्त्र प्रहरी बलको एउटा उद्धार टोलीले घन्टौं लामो प्रयास पछि उनको उद्धार गरेको थियो

उनको एउटा फिल्ड अस्पतालमा उपचार भैरहेकेा बताइएको छ।

उद्धार

यसअघि मंगलबार ८२ घन्टासम्म काठमाण्डुको एउटा होटलको भग्नावशेषमा चेपिएका ऋषि खनाललाई पनि उद्धार टोलीहरुले जीवितै बाहिर निकालेका थिए।

शनिबारको बिनाशकारी भूकम्पका कारण हालसम्म पाँच हजार भन्दा बढीको ज्यान गएको र १० हजार भन्दा बढी घाइते भएको सरकारले जनाएको छ। यसैबीच काठमाण्डुस्थित राष्ट्रसंघीय निकायहरुले शनिबार र त्यसयता आएका शक्तिशाली भूकम्पबाट झन्डै ६ लाख घरहरु ध्वस्त भएको र २८ लाख मानिस विस्थापित भएको हुनसक्ने अनुमान गरेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा रहेका ९० प्रतिशत स्वास्थ्य केन्द्रहरुमा क्षति पुगेको र हजारौँ विद्यालयहरु भत्किएको राष्ट्रसंघद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

सहायता

काठमाडौंमा आयोजित एउटा पत्रकार सम्मेलनमा मानवीय साहयता समन्वयको जिम्मा पाएका राष्ट्रसंघका नेपाल स्थित प्रतिनिधि जेइमी मकगोल्डरिकले नेपाललाई तत्काल ४ सय १५ मिलियन अमेरिकी डलर बराबरको सहायता आवश्यक रहेको बताएका थिए।

उनले भने, “हामीले पहिचान गरेका क्षेत्रहरु मध्ये स्वभाविक रुपमा सबैभन्दा बढी खर्च खाध्यान्न, पानी, सरसफाइ र आवासमा हुने देखिन्छ।”

राष्ट्रसंघले भूकम्प प्रभावितका लागि तीन महिनासम्म खाध्यान्न उपलब्ध गराउन झन्डै १३ अर्ब रुपियाँ, स्वास्थ्यका लागि झन्डै साढे सात अर्ब रुपियाँ र आवासका लागि पाँच अर्ब रुपियाँसम्म लाग्न सक्ने जनाएको छ।

कतिपय जिल्लाहरुमा भने राहत तथा उद्धार कार्यमा ढिलाइ भैरहेको समाचारहरु प्राप्त भैरहेका छन्।

अधिकारीहरुले चाहिं खराब मौसम र पर्याप्त हेलिकोप्टरहरु नभएका कारण उद्धार कार्यमा ढिलाइ भैरहेको जनाएका छन्।