आठ जिल्लामा उद्धार केन्द्रित: नेपाली सेना

  • 30 एप्रिल 2015
तस्वीर कपीराइट AP
Image caption बिहीबार दुई जनालाई सुरक्षा निकायले राजधानीबाट जीवितै उद्धार गरेका छन्

विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या ५ हजार ८ सय नाघ्दा नेपाली सेनाले आफ्नो दोस्रो चरणको उद्धार तथा खोज कार्य सबैभन्दा बढी क्षति भएका सिन्धुपाल्चोक र गोर्खा सहितका ८ जिल्लामा केन्द्रित गरेको बताएको छ।

उद्धार तथा खोजी कार्यका लागी बिहीबार मात्रै ९० वटा भन्दा बढी हवाई मिसन संचालन गरेको सेनाले जनायो।

अन्तर्राष्ट्रिय निकायहरुबाट प्राप्त भएका कम्बल, पाल लगायतका राहत सामाग्री लिएर सैनिक टोलीहरु भूकम्प प्रभावित जिल्लामा पुग्न थालेको सेनाको भनाइ छ।

भूकम्प गएको ६ दिनपछि बिहीबार सुरक्षा निकायले राजधानीको गोङ्गबु क्षेत्रबाट दुई जनाको जीवितै उद्धार गरेका छन्।

परिचालन

शनिबार ७ दशमलब ८ रेक्टरको भूकम्प आए यता आफ्नो कूल जनशक्तिको झन्डै ९० प्रतिशत उद्धार तथा राहतमा परिचालन गर्दै आएको नेपाली सेनाले उद्धार तथा खोज अभियानको दोस्रो चरण शुरु भएको जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा भएका क्षतिको समीक्षा पछि पछिल्लो उद्धार तथा खोजी कार्वाही आठ जिल्लामा केन्द्रित गरिएको सैनिक अधिकारीहरुले बताएका छन्।

ती जिल्लाहरुमा बिहीबार मात्रै ९० वटा भन्दा बढी हवाई अप्रेशन संचालन गरिएको सैनिक मुख्यालयद्वरा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सेनानी अनुपजंग थापाले बताए।

उनले भने, “भूकम्पको केन्द्रविन्दु रहेको गोर्खा अनि सिन्धुपाल्चोकमा धेरै क्षति भएको देखिएको छ र अन्य ठाउँहरु पनि थुप्रै छन्। हामीले गोर्खा र सिन्धुपाल्चोकलाई प्राथमिकता दियौँ भनेको अन्यत्र हामी नजाने भनेको होइन, आजमात्रै ९२ वटा हेलिकप्टर मिसन आठवटा जिल्लामा गएका छन्।”

'अप्रेशन संकटमोचन' नाम दिइएको उक्त उद्धार तथा खोज अभियान अन्तर्गत नेपाली सेनाका ८ र भारतीय सेनाका ४ गरी १२ वटा हेलिकप्टर परिचालन गरिएको र २७ देशका सैनिक तथा गैरसैनिक टोलीले सघाउ पु-याइरहेको सेनाले बताएको छ।

पछिल्लो विपत्तीबाट आफ्ना एक तिहाइ संरचना तथा सवारी साधनमा क्षति पुगेको भन्दै सेनाले सीमित श्रोत साधनका कारण उद्धार तथा राहत संचालनमा समस्या खेप्नुपरिरहेको पनि उल्लेख गरेको छ।

राहत

विदेशबाट प्राप्त भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता गोदाममा जम्मा भएका झन्डै २८० टन राहत सामग्री मध्ये १८० टन बिहीबार दिउँसोसम्म भूकम्प प्रभावित सबै जिल्लाहरुमा पठाइएको अधिकारीहरुले बताएका छन्।

करीब ४ हजार कम्बल, १२ सय थान टेन्ट र ८० टन खाद्य सामग्री जिल्लाहरुमा पठाइएको नेपाली सेनाका महासेनानी सुरेन्द्र सिंह रावलले बताए।

नेपाली सेनाले बिहीबार झन्डै १८० टन थप राहत सामग्री प्राप्त भएको बताएको छ।

हाम्रा संवाददाता भन्छन्, भूकम्प गएको छैठौँ दिनमा समेत हराइरहेका कैयौँ मानिस मध्ये दुई जनालाई राजधानीको गोङ्गबुमा भग्नावशेषबाट सुरक्षा निकायले जीवितै उद्धार गरेपछि त्यसले एउटा निर्मम विपत्तीसँग जुधिरहेका सर्वसाधारणमा केही आशाको संचार गराएको छ।