ज्यान गुमाउनेहरुको संख्या ६२ सय नाघ्यो

  • 1 मे 2015
तस्वीर कपीराइट AFP
Image caption धेरै मानिसहरुको बास खुल्ला ठाउँमा भएको बेला धेरैले सुत्केरीहरु विशेष प्रभावित भइरहेको भन्दै सजग रहनुपर्ने देखन्छ।

शनिबार गएको भूकम्प र त्यसपछिका धक्कामा परि ज्यान गुमाउनेहरुको संख्या शुक्रबारसम्म ६ हजार नाघेको छ।

मृतकबाहेक घाइते हुनेहरुको संख्या भने झन्डै १४ हजार पुगेको छ।

ठूलो जनधनको क्षति गराएको उक्त भूकम्पमा देशभरका विभिन्न प्रभावित जिल्लामा अझै उद्धार कार्य जारी छ।

त्यस्तै राहतका कार्यक्रममा पनि मुख्य प्रभावित क्षेत्रहरुमा प्राथमिकतासहित राहतका सामग्री पुर्याइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।

उद्धार

तर देशभरका धेरै ठाउँमा भने अत्यावश्यक राहतका सामग्रीहरु आफूले पाउन नसकेको गुनासो स्थानीय वासिन्दाले गरिरहेका छन्।

उद्धार कार्य जारी रहँदा प्रभावित धेरै जिल्लाहरुमा देशविदेशबाट आएका सहयोगहरु बाँड्न जनशक्तिको कमी भएको गुनासो भइरहँदा विभिन्न पेशाका युवाहरु जिल्ला जिल्ला पुगेर राहतको साम्री वितरण गरिरहेका छन्।

त्यस्तै कतिपय उद्धारमा खटिएका प्रहरी र सेनाका जवानहरु आफ्नै घर परिवार शोकमा डुब्दा पनि उनीहरु त्यसको परवाह नगरी काममा दत्तचित्त भएर लागेका छन्।

घटना भएको छैठौं दिनसम्म पनि उनीहरुको प्रयास मानिसलाई जिवितै उद्धार गर्ने तर्फ केन्द्रीत रहेको देखिन्छ।

सुझाव

बिहीबारसम्म पनि सेना र प्रहरीको टोलीले भूकम्पले क्षति पुर्याएर फसेका मानिसहरुलाई जीवितै उद्धार गरेका थिए।

प्रभावित जिल्लाहरुका अधिकांश घर ध्वस्त भएकोले अहिलेको आवश्यकता विशेषगरि पालमा भइरहेको सरकारी अधिकारीहरुले बताइरहेका छन्।

त्यसबाहेक खानपानमा विशेष ध्यान दिन र पानी शुद्ध बनाएर पिउन जनस्वास्थ्यका जानकार डाक्टरहरुले सुझाव दिइरहेका छन्।