पाल र खाद्यान्न सहयोग गर: सरकार

  • 1 मे 2015
तस्वीर कपीराइट AP
Image caption भूकम्प पीडितहरुको मुख्य आवश्यकता उचित बास र खानेकुरा रहेको छ

सरकारले दाताहरुलाई भूकम्प पीडितलाई हालको अवस्थामा आवश्यक सामाग्रीमात्र राहतका रुपमा प्रदान गर्न, अन्यथा नगद नै सहयोग गर्न अनुरोध गरेको छ।

भूकम्प पीडितका लागि राहतका रुपमा आएका कैयौं सामाग्री उपयोगी नहुने प्रकृतिको भएकाले त्यस्तो अनुरोध गरेको अर्थमन्त्रीले बताए।

केन्द्रित

भूकम्प पीडितहरुको माग खासगरी उचित बसोबास र खानपान भएको हुनाले सबैको सहयोग त्यसैमा केन्द्रित हुनुपर्ने सरकारको भनाइ छ।

त्यसलाई प्रष्ट पार्दै अर्थमन्त्री रामशरण महतले भने, “कहींबाट टुना माछा आएको छ, कहींबाट मायोनेज आएको छ। अब तिनलाई कहाँ वितरण गर्ने? त्यसकारण नेपालीले उपयोग गर्न खालको राहत सामग्री चाहियो। चामल, चिनी, नुन चाहियो। बस्नलाई पाल चाहियो। अहिलेको मूल आवश्यकता यो हो। यी वस्तु दिन सकिंदैन भने नगदै दिइयोस्।”

राहत सामाग्री यति आयो र उति आयो भनी गरिएको प्रचारको पनि सरकारले खण्डन गरेको छ।

उसका अनुसार हालसम्मे नगद सहयोग केवल एशियाली विकास बैंकको ३० लाख डलर र भुटान सरकारको १० लाख डलर प्राप्त भएको छ।

बाँकी सबै प्रतिबद्धता मात्रै भएको मन्त्री महतले बताए।

“अब राहत सामग्री धेरै आएको छ भनिएको छ। यथार्थ यस्तो छ कि कतिपय जहाज आएका छन् र तिनका सानो भागमा राहत सामग्री आएको छ। म नाम लिन्न तर कतिपय यस्ता जहाज आफ्नै नागरिकलाई उद्धार गर्ने नियतले आएको जस्तो देखिन्छ,” महतले भने।

कठिनाई

सबैभन्दा बढ्ता आवश्यकता रहेको त्रिपाल र पाल झिकाउन निकै व्यावहारिक कठिनाइ रहेको पनि अधिकारीहरु बताउँछन्।

चार देखि पाँच लाख पाल आवश्यक भएकाले तिनलाई झिकाउन व्यावहारिक चुनौती रहेको भन्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले भने, “टिकाउ खालका पाल ठूलो संख्यामा तत्काल झिकाउन व्यावहारिक रुपमा असम्भव जस्तो देखिएको छ। त्यसैले ५० जना देखि १ सय जनासम्म अट्ने खालका ठूला पाल ल्याउने अनि त्रिपालहरु ल्याउने पट्टि लागियो भने केही सजिलो हुन सक्छ।”

पाल ल्याउन सजिलो बनाउनका लागि शुक्रबार अर्थ मन्त्रीले ती वस्तुमा कुनै किसिमको भन्सार नलाग्ने निर्णय गरेका छन्।