त्रिपालको जोहो गर्न पहल जारी: राष्ट्रसंघ

  • 2 मे 2015
तस्वीर कपीराइट AFP
Image caption सरकारले यस्तो आह्वान गरिरहँदा गाउँलेहरुले भने राहतका सामग्री पाउन नसकेको गुनासो गरिरहेका छन्।

नेपालका भूकम्प पीडितहरुलाई अत्यावश्यक त्रिपाल उपलब्ध गराउन आफूले कूटनीतिक पहल गरिरहेको संयुक्त राष्ट्रसंघका एकजना अधिकारीले जनाएका छन्।

छिमेकी देशमा समेत त्रिपालको अभाव रहेको भन्दै यसअघि सरकारले अस्थायी आवास निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई लिखित आग्रह गरेको थियो।

राष्ट्रसंघका अधिकारीले भूकम्प पीडितलाई उपलब्ध गराइएको राहत दुरुपयोग भएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको पनि बताए।

एक हप्ता अघिको विनाशकारी भूकम्पमा ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको गृहमन्त्रालयले जनाएको छ।

पहल

भूकम्प पीडितका लागि अन्तर्राष्ट्रीय समुदायबाट सोचे जति त्रिपाल प्राप्त नभएको भन्दै सरकारले चिन्ता व्यक्त गरिरहँदा राष्ट्रसंघका अधिकारीहरुको पछिल्लो भनाइ आएको हो।

स्वदेश र छिमेकी देशका बजारमा समेत नेपाललाई आवश्यक त्रिपालको अभाव देखिएकाले आफूहरु अन्यौलमा परेको सरकारी अधिकारीहरुले बताउँदै आएका थिए।

भूकम्प पीडितलाई तत्काल अस्थायी आवास उपलब्ध गराउनुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रसंघले अन्तर्राष्ट्रिय अाह्वान गरेको नेपालस्थित राष्ट्रसंघका मानवीय सहायता संयोजक जेइमी मकगोल्डरिकले बताए।

उनले भने, “राष्ट्रसंघले यसबारेमा यहाँ रहेका मुख्य राजदूतावास र दातृ निकायसँग कुराकानी गरिरहेको छ र आवास हाम्रो सबैभन्दा ठूलो प्राथमिकता भएको बताइरहेको छ।”

आह्वान

अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदा पनि नगन्य संख्यामा मात्र त्रिपाल प्राप्त भएपछि स्थानीय उत्पादकलाई पूर्ण क्षमतामा काम गर्न सरकारले आह्वान गरेको छ।

गएको शनिबार आएको शक्तिशाली भूँइचालोका कारण देशभर झन्डै डेढ लाख घर पूर्ण रुपमा ध्वस्त भएकाले करीब ४ लाख थान त्रिपाल चाहिनसक्ने अनुमान गरिएको छ।

नेपालका भूकम्प पीडितका लागि अन्तर्राष्ट्रिय स्तरमा व्यापक रुपमा आर्थिक सहयता तथा राहत सामाग्री संकलन भएको भनिए पनि हालसम्म ती मध्ये थोरै मात्रै प्राप्त हुन सकेको सरकारका प्रवक्ता तथा संचार मन्त्री मिनेन्द्र रिजालले बताए।

उनले भने, “हामीसँग अहिलेसम्म ४० लाख डलर भन्दा अलिकति बढी मात्र आर्थिक सहायता आएको छ। सयौँ संस्था तथा व्यक्तिहरुले सहयोग गर्छु भन्नुभएको छ तर त्यो सामान र पैसा यहाँ नआउँदासम्म विस्थापित भएको मानिसले राहत त पाएन नि।”

सामना

सरकारले भूकम्प पीडितका लागि आफूसँग तत्कालका लागि पर्याप्त खाद्यान्न तथा स्वास्थ्य सामाग्री रहेको बताउँदै आएको छ।

शनिबार दिउँसो पत्रकार सम्मेलन गरेका मुख्य सचिव लिलामणी पौडेलले नेपालले आफ्नो क्षमता भन्दा निकै ठूलो प्राकृतिक विपत्ती खेपेको भन्दै सबैले एकजुट भएर यसको सामना गर्नुपर्ने बताए।

यसबीच नेपाली सेना र प्रहरीको टोलीले शनिबार रसुवाको लाङटाङ क्षेत्रबाट ४२ जना र उपत्यकाका विभिन्न स्थानबाट ५ जनाको शव भग्नावशेषबाट निकालेको छ भने ५ सय २७ जनाको उद्धार गरिएको जनाएको छ।

एकहप्ता अघिको भूकम्पमा परेर हालसम्म ७ हजार भन्दा बढीको ज्यान गएको र १४ हजार भन्दा बढी घाइते भएको राष्ट्रसंघले जनाएको छ।