भूकम्पको नवौं दिन ३ जनाको जीवितै उद्धार

  • 3 मे 2015
तस्वीर कपीराइट AFP
Image caption सशस्त्र प्रहरी बाहेक नेपाली सेनाले पनि उत्तिनै खटेर उद्धार र राहतमा सघाइरहेका छन्।

विनाशकारी भूकम्प गएको नवौं दिन सशस्त्र प्रहरीको टोलीले सिन्धुपाल्चोक जिल्लामा भूकम्पमा पुरिएका तीनजनाको जीवितै उद्धार गरेको छ।

सिन्धुपाल्चोकको स्याउली गाविस ८ स्थित केराबारी भन्ने गाउँबाट उद्धार गरिएका तीनैजनालाई उपचारको लागि आइतबार सदरमुकाम चौतारामा लगिएको सशस्त्र प्रहरीले जनाएको छ।

दिन वित्दै जाँदा भूकम्पमा परेकाहरु जीवितै फेला पर्ने सम्भावना घट्दै गएको भनिएको बेला तीनजनालाई जीवितै उद्धार गरिएको हो।

उक्त गाउँमा तीनजना जीवितै रहेको जानकारी पाएपछि अर्को जिल्लामा खटिरहेको सशस्त्र प्रहरी बलको सर्च एन्ड रेस्क्यू टोली सिन्धुपाल्चोक पुगि उनीहरुको उद्धार गरेको थियो।

प्रयास

सशस्त्र प्रहरीको सूचना शाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक अजय छतकुलीले भने, "३५ वर्षकी ज्ञानकुमारी खत्री, २६ वर्षकी गर्भवती कञ्चन खत्री अनि उमेर नखुलेकी धनकुमारी खत्रीलाई उद्धार गरी जिल्ला अस्पताल चौतारामा पठाइएको छ।"

तर सञ्चारमा अवरोध भएका कारण उनीहरुलाई कुन अवस्थामा उद्धार गरिएको थियो भन्ने विस्तृत जानकारी आउन बाँकी रहेको छतकुलीले बताए।

उनले भने, "वहाँहरु तीन जनालाई सशस्त्रको टोलीले कत्तिको जोखिमपूर्ण ठाउँबाट कसरी उद्धार गरेर अस्पताल पठाएको भन्ने बारे पूर्ण विवरण प्राप्त भइसकेको छैन।"

सिन्धुपाल्चोकमा मात्रै भूकम्पका कारण मर्नेहरुको संख्या २ हजार ६ सय नाघेको छ।

त्यस्तै आइतबार नै प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा नुवाकोट किम्ताङ ८ बस्ने १ सय १ वर्ष को फुल्चु तामाङलाई उद्धार गरेको जनाएको छ।

गुनासो

यसबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तारन्तार उडानहरु भएका हुनाले त्यसको रनवेमा क्षति हुन नदिन भन्दै अधिकारीहरुले १९६ टन भन्दा बढ्ता भार भएका जहाजलाई अवतरण नगर्न भनेका छन्।

विमानस्थलका कायममुकायम महाप्रबन्धक विरेन्द्रप्रसाद श्रेष्ठका अनुसार १ मे भन्दा अगाडिनै स्वीकृती लिइसकेका त्यस्ता जहाजको हकमा यो नियम लागु हुने छैन।

आइतबारसम्म नेपाल प्रहरीको तथ्यांक अनुसार मृतकको संख्या करिब ७ हजार २ सय नाघेको छ भने घाइतेहरुको संख्या करिब १४ हजार ३ सय पुगेको छ।

राहत सामग्री लिइ आइतबार सिन्धुपाल्चोकमा २७, गोरखामा १९, दोलखामा १८, धादिङमा १० सहित झन्डै सय वटा गाडीहरु विभिन्न जिल्ला पुगेका छन्।

हिमाली क्षेत्र लाङटाङमा हेलिकप्टरद्वारा उद्धार टोली र राहतका सामग्री पुर्याइएको छ।

तर अझै पनि धेरै ठाउँमा मानिसहरुले राहतका सामग्री पाउन नसकेको गुनासो गरिरहेका छन्।