‘विदेशी टोली फिर्ता पठाउने तयारी’

  • 4 मे 2015
अमेरिकी विमान तस्वीर कपीराइट AP
Image caption अधिकांश विदेशी टोली फिर्ता पठाउने तयारी भइरहदा, अमेरिकी सेनाको एक राहत टोली आइतबारमात्रै नेपाल आइपुगेको हो

भूकम्पपछिको खोजी तथा उद्धारको कार्यमा सघाउनका निम्ति नेपाल आएका अधिकांस विदेशी टोलीलाई फिर्ता पठाउन केन्द्रीय दैवी प्रकोप उद्धार समितिले सरकारलाई सिफारिस गरेको छ।

भत्किएका ठूला भवनहरुमा खोजी तथा उद्धारको काम लगभग सकिएकाले उनीहरुलाई फर्काउने तयारी भएको गृह मन्त्रालयका अधिकारीले बताएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा अब गर्न बाँकी खोजी तथा उद्धारका काम नेपाली जनशक्तिले नै गर्ने सरकारको भनाइ छ।

झन्डै डेढ हप्ताअघिको शक्तिशाली भूकम्प लगत्तै विभिन्न देशले खोज तथा उद्धारका विज्ञ जनशक्तिसहितका टोली नेपाल पठाएका थिए।

'सिफारिस'

भूकम्पका कारण भत्किएका ठूला संरचनाभित्र पुरिएका मानिसहरुको खोजी तथा उद्धार गर्नका लागि प्रयोग गरिएका त्यस्ता अन्तर्राष्ट्रिय टोलीको काम लगभग सकिएको अधिकारीहरुले बताएका छन्।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले अधिकांश टोलीले आफ्नो काम सकेकाले उनीहरुलाई फर्काउन सिफारिस गरिएको बताए।

उनले भने, "अब खोजी तथा उद्धारका लागि भत्किएका ठूला भवनहरु बाँकी छैनन्, त्यसैले अब उनीहरुलाई धन्यवाद दिने र पठाउने सिफारिस गरेका हौँ।"

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले गरेको सिफारिस अनुरुप उनीहरुलाई तत्काल फिर्ता पठाउने या केही दिन अझै राख्ने भन्ने निर्णय मन्त्रिपरिषद्ले लिने उनले बताए।

भूकम्प गएको पहिलो दिनयता ३४ देशबाट ४ हजार ५० जनाको खोजी तथा उद्धार टोली नेपाल आएको गृह मन्त्रालयले जनाएको छ।

उक्त टोलीमा १ सय २९ वटा कुकुर पनि छन्।

अमेरिकी टोली

खोजी तथा उद्धार कार्य बाहेक विदेशबाट आएका स्वास्थ्य टोलीबारे निर्णय गर्ने अधिकार स्वास्थ्य मन्त्रालयलाई दिएको प्रवक्ता ढकालले बताए।

उनले भने, "स्वास्थ्य टोलीका बारेमा अझै कति आवश्यक हो भन्ने आंकलन गरेर कतिलाई पठाउने र कति राख्ने भन्ने निर्णय स्वास्थ्य मन्त्रालयले नै गर्ने भन्ने भएको छ।"

विदेशी टोली फर्किएपछि बाँकी साना संरचनामा खोज तथा उद्धारको काम नेपाली सुरक्षा निकायले जारी राख्ने अधिकारीहरुको भनाई छ।

गृह मन्त्रालयका अधिकारीको त्यस्तो भनाइ आउँदै गर्दा अमेरिकी सेनाको एक टोली आइतबार मात्रै उद्धार तथा राहतमा सघाउन भन्दै विमान तथा हेलिकोप्टर लिएर नेपाल आइपुगेको थियो।

त्यो टोलीले बुधबारदेखि काम थाल्ने जानकारी आफूले पाएको ढकालले बताए।