सिन्धुपाल्चोकमा एक दुई दिनमै पाल: प्रधानमन्त्री

  • 4 मे 2015
तस्वीर कपीराइट bbc
Image caption सरकारले तीब्र रुपमा राहत वितरण गरिरहेको बताइरहँदा ग्रामीण भेगका मानिसहरुको भने पाउन नसकेको गुनासो छ

प्रधानमन्त्री सुशील कोइरालाले १० दिन अघिको विनाशकारी भूकम्पबाट सबैभन्दा बढी क्षति व्यहोरेको सिन्धुपाल्चोकका भूकम्प पीडितलाई एक/दुई दिनमै पाल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

सोमबार पहिलोपटक काठमाण्डू बाहिरको भूकम्प प्रभावित स्थानको भ्रमण गरेका प्रधानमन्त्रीले दलका स्थानीय प्रतिनिधि र सर्वसाधारणसँग समेत अन्तरक्रिया गरेका थिए।

भूकम्प पीडितका लागि झन्डै पाँच लाख पाल झिकाउने प्रकृया सुरु गरिएको सरकारले बताएको छ।

सिन्धुपाल्चोक र रसुवा जिल्लामा अझै धेरै मानिसहरु हराईरहेको अधिकारीहरुले बताएका छन्।

निरीक्षण

लगभग ९० प्रतिशत घर क्षति भएको र हालसम्म झन्डै २ हजार ९ सयले ज्यान गुमाएको सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री कोइरालाले भौतिक क्षति र राहत वितरणको निरीक्षण गरेका थिए।

त्यसक्रममा उनले चौतारामा दलका स्थानीय प्रतिनिधि र संचार सम्पर्क विच्छेद रहेको जिल्लाको दुर्गम लिस्टी गाविसका सर्वसाधारणसँग अन्तरक्रिया गरेको अधिकारीहरुले जनाएका छन्।

राहत वितरणका लागि सिन्धुपाल्चोकमा खटिएका गृहमन्त्रालयका सहसचिव हिमनाथ दवाडीले, प्रधानमन्त्रीले सरकारले आवश्यक सबै राहत सामाग्री पीडितहरुलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए।

उनले भने, “अहिले खाद्यान्न छँदैछ, सबैभन्दा बढ्ता अभाव पालको छ भन्ने कुरा राजनीतिक दलहरुले गरे, एक दुई दिनभित्रै आवश्यक पर्ने पाल पनि आउँछ भन्ने प्रधानमन्त्रीले जानकारी दिनुभएको छ।”

जोहो

भूकम्प प्रभावितका लागि तत्कालै पालहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले गरेकै दिन शहरी विकास मन्त्रालयले झन्डै पाँच लाख थान पाल जोहो गर्ने प्रकृया अघि बढाएको छ।

मन्त्रालयका प्रवक्ता पदमकुमार मैनालीले कम्तिमा बर्षायामसम्म धान्ने खालका पाल स्थानीय बजार, भारत र चीनबाट खरिद गर्ने प्रकृया थालिएको बताए।

उनका अनुसार भारतीय बजारबाट पाल खरिद गर्न झन्डै १२ करोड रुपियाँ दिल्ली स्थित नेपाली दुतावासलाई निकासा गरिएको छ।

झन्डै सबा लाख पाल नेपाली उत्पादकहरुबाट र अढाई लाख पाल चीनियाँ बजारबाट खरिद गर्ने निर्णय सरकारले गरेको छ।

शहरी विकास मन्त्रालयका प्रवक्ता मैनालीले भने, “भारतबाट आउने पाल अलि चाँडो आइपुग्छ, चीनबाट ल्याउने प्रकृया आजैमात्र सुरु भएको हो।”

बैशाख १२ गतेको भूकम्पका कारण झन्डै ७ हजार ४ सयको ज्यान गएको र करिव दुई लाख घरहरु पूर्ण रुपमा क्षति भएका विवरणहरु आएका छन्।

उद्धार

अधिकारीहरुले अझ पनि सिन्धुपाल्चोक र रसुवा जिल्लामा धेरै मानिसहरु हराइरहेको जानकारी रहेको भन्दै यो संख्या बढ्न सक्ने बताएका छन्।

सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा पहिरोमा पुरिएका केही सार्वजनिक सवारी साधन उत्खनन् गर्न नेपाली र चिनीयाँ टोलीले प्रयास गरिरहेको बताइएको छ।

रसुवामा भूकम्पबाट क्षति भएको स्थानीय जलविद्युत केन्द्रमा च्यापिएका र लाङटाङ क्षेत्रमा पहिरोमा पुरिएका व्यक्तिको शव निकाल्नको लागि काठमाण्डूबाट उपकरण सहित सुरक्षाकर्मी पठाउन स्थानीय अधिकारीले माग गरेका छन्।