उद्धार र राहतमा भेदभाव भएको छैन: सरकार

  • 5 मे 2015
तस्वीर कपीराइट AFP
Image caption राहत वितरणमा सेना, प्रहरी र सर्वसाधारणको पनि उत्तिकै उपस्थिति देखिन्छ

विनाशकारी भूकम्पपछिको उद्धार तथा राहत केही सीमित क्षेत्रमा बढी केन्द्रीत भएको राष्ट्रसंघीय निकायले टिप्पणी गरेपछि सरकारले क्षतिका आधारमा आफूले राहतको प्राथमिकता निर्धारण गरेको प्रतिक्रिया दिएको छ।

सोमबार राष्ट्रसंघले पहाडी तथा अति दुर्गम गाउँहरुमा सरकारी प्रयास केन्द्रीत हुनुपर्ने बताएको थियो।

त्यसको जवाफमा सरकारले सूचना पाएका सबै क्षेत्रमा आफूले उद्धार तथा राहत सामाग्री पठाएको बताएको छ।

समन्वय

विनाशकारी भूकम्पपछिको नेपालको अवस्थाबारे सोमबार सार्वजनिक गरिएको आफ्नो प्रतिवेदनमा राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओचा)ले पछिल्ला खोज तथा राहत काठमाण्डू, गोरखा र सिन्धुपाल्चोकमा बढी केन्द्रीत रहेको भन्दै अति प्रभावित दुर्गम पहाडी गाउँहरुमा पनि राहत पुर्याउनुपर्ने आवश्यकता औल्याएको थियो।

अबको ६ हप्तापछि सुरु हुने भनिएको वर्षायाम अघि नै भूकम्प प्रभावित सबै स्थानमा दिगो उद्धार तथा राहत पुर्याइसक्नुपर्ने जोड राष्ट्रसंघको रहँदै आएको छ।

सीमित क्षेत्रमा उद्धार तथा राहत केन्द्रीत देखिएको भन्ने राष्ट्रसंघीय प्रतिवेदनबारे मंगलबार अयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रालयले त्यसबारे जवाफ दिएको छ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले भने, "ठाउँको क्षति हेरेर पठाउने हो, त्यसरी निरन्तर पठाइरहेका छौं, यदि कतै नपुगेको ठाउँको बारेमा खबर आएमा हामी त्यहाँ पठाउँछौं।"

बैशाख १२ गतेको भूइचालोका पीडितलाई हालसम्म १ लाख ६० हजार भन्दा बढी पाल वितरण गरिसकेको छ।

मंगलबार दिउँसो सम्म झन्डै ९६ हजार क्विन्टल चामल र १ लाख ८० हजार भन्दा बढी कार्टुन चाउचाउ सहितका खाद्य सामाग्री पठाएको गृह मन्त्रालयको भनाइ छ।

क्षति

१४ वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएको पछिल्लो विपत्तीका कारण मंगलबारसम्म दुई लाख ५ हजार भन्दा बढी घर पूर्ण क्षति भएको र १ लाख ८६ घर आंशिक क्षति भएका विवरण जम्मा भैसकेको छ।

राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ओचाकी क्षेत्रीय संचार अधिकृत ओर्ला फेगनले आफूहरुले सरकारले राहत वितरणमा विभेद गरेको नभनेको तर राहत नपाइरहेका क्षेत्रका बारेमा कुरा उठाएको बताइन्।

उनले भनिन्, "सरकार सहित कसैले पनि कुनै क्षेत्रलाई बेवास्ता गरेका छैनन्, हामी मानिसहरुले सहायता प्राप्त नभएको भनिरहेकोमा चिन्तित छौँ र कतिपय स्थानमा भएको क्षति हामीलाई अझै थाहा भइसकेको छैन, त्यस्ता स्थानमा पुग्ने र उनीहरुलाई सहायता उपलब्ध गराउने कोसिस भइरहेको छ, कुनै एउटा क्षेत्र अर्को क्षेत्र भन्दा महत्वपूर्ण छैन।"

१० दिन अघिको विनाशकारी भूकम्पबाट मंगलबार साँझसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय नाघेको छ भने घाइते हुनेको संख्या झन्डै १६ हजार ४ सय पुगेको छ।