‘कालोबजारी गर्नेलाई कारवाही गरिंदै’

  • 5 मे 2015
Image caption विपद्को मौका छोपी पसलेहरुले महंगोमा खाने सामान बेच्ने गरेको उपभोक्ताहरुको गुनासो छ

महाभूकम्पले निम्त्याएको विपद्को मौका छोपी कालोबारी गर्नेहरु व्यापारी तथा पसलेहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको अधिकारीहरुले बताएका छन्।

वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका एक उच्च अधिकारीले काठमाण्डू उपत्यकामा हालसम्म खानेकुरा र औषधिजन्य सामग्रीमा कालोबजारी गर्ने २० जनाभन्दा बढी पसलेहरुलाई कारवाहीको दायरामा ल्याइएको बीबीसीलाई बताए।

अधिकारीहरुले केही समयपछि निर्माण सामग्रीमा पनि अनुगमन थालिने बताएका छन्।

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बजारमा सामान लुकाउने र उपभोक्ताहरु बढी मूल्य दिन तयार भएपछि मात्र पसलेहरुले बेच्ने गरेको गुनासामाझ अधिकारीहरुले बजार अनुगमनलाई तीव्र पारिएको बताएका छन्।

कारवाही

वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक शम्भू कोइरालाले अनुगमनका क्रममा चाउचाउ, खानेपानी लगायत सामानको बढी मूल्य लिने गरिएको र म्याद सकिएको पानी विक्री गर्ने गरेको पाइएको बताए।

त्यसबाहेक तोकिएको मूल्यभन्दा मास्क धेरै महंगोमा बेच्ने गरेको पाइएको बताए।

अनुगमनका क्रममा पक्राउ गरिएका र उनीहरुलाई गरिने कारवाहीबारे कोइरालाले भने, “खासगरी मास्क र औषधिमा बढी मूल्य लिनेहरुलाई हामीले प्रहरी हिरासतमा राखी कारवाही अघि बढाएका छौँ, त्यसैगरी गोङबुको नयाँ बसपार्क क्षेत्रमा १७ वटा पसलहरुले चाउचाउ, अण्डा र पानी लगायतका सामानमा बढी मूल्य लिइरहेको पाएपछि कारवाहीका निम्ति हामीले स्थानीय प्रहरीलाई लेखेका छौँ।”

निरन्तरता

विनाशकारी भूकम्पपछि जनजीवन विस्तारै सामान्य हुँदै गएको देखिन थालेपनि बजार अनुमनलाई निरन्तरता दिइने कोइरालाले जनाए।

उनले थपे, “अहिलेको आवश्यकता भनेको खाद्यान्न, तरकारी र फलफूल हो, त्यसमा अहिले हामी ध्यान केन्द्रित गर्छौँ, त्यसपछि पुनर्निर्माणका काममा मानिसहरु जुट्न थालेपछि हामी ती सामग्रीमा अनुगमन शुरु गछौँ।”

कालोबजारीमा दोषी पाइए १४ वर्षसम्म जेल सजाय र ५ पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ।