हेल्पलाइनमा २७ हजारभन्दा बढी गुनासा

  • 6 मे 2015
तस्वीर कपीराइट AFP
Image caption अधिकारीहरुका अनुसार हेल्पलाइनमा प्राप्त अधिकांश गुनासाहरु राहतसँग सम्बन्धित छन्

सरकारले भूकम्प प्रभावितहरुलाई लक्षित गरी एक साताअघि शुरु गरेको हेल्पलाइनमा हालसम्म २७ हजारभन्दा बढी गुनासाहरु प्राप्त भएको जनाएको छ।

अधिकांश गुनासा राहत सामग्रीसँग सम्बन्धित रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए।

हेल्पलाइनमा आउने गुनासालाई सुरक्षा निकायहरुलाई जानकार गराइ उद्धार तथा राहत वितरण लगायतका काममा प्रयोग गरिएको अधिकारीहरु बताउँछन्।

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पीडितले निःशुल्क रुपमा आफ्ना गुनासा राख्न सकून् भन्ने उद्देश्यले सरकारले गत मंगलबार १२३४ टेलिफोन नम्बरको हेल्पलाइन शुरु गरेको थियो।

ओइरो

उक्त हेल्पलाइनमा गुनासाहरुको ओइरो लागेको अधिकारीहरुको भनाई छ।

एक साताभित्र हेल्पलाइनमार्फत आएका गुनासाबारे गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, “सबैलाई जानकारी दिने र सबैका गुनासा सुन्ने उद्देश्यले हामीले कल सेन्टरहरु स्थापना गरेका छौँ र हालसम्म २७ हजार २ सय ७० वटा गुनासा प्राप्त भएका छन्।”

हेल्पलाइनमा पीडितहरुले टिपाउने गरेको समस्याको प्रकृतिबारे ढकालले थपे, “प्रायःजसो गुनासाहरु पाल नपाएको विषयमा छन्, कतिपय ठाउँमा घरहरु भत्किएको र त्यसलाई हटाउनुपर्ने विषयमा छन् भने कतिपयले बढी चर्केका अरुका घरबाट आफ्नो घर दबिएको गुनासा गरेका छन्।”

उद्धार

हेल्पलाइनमा पीडितहरुले टिपाउने गरेको समस्यालाई सुरक्षाकर्मीहरुसम्म पुर्याउने गरिएको र सो बमोजिम राहत तथा उद्धार कार्य गर्ने गरिएको अधिकारीहरुले बताएका छन्।

विनाशकारी भूकम्पका कारण हालसम्म मृत्यु हुनेको संख्या साढे ७ हजार नाघेको छ भने १४ हजारभन्दा बढी मानिसहरु घाईते भएका छन्।

अधिकारीहरुका अनुसार उद्धार कार्य अब रसुवा र सिन्धुपाल्चोकमा मात्र जारी रहनेछ।