प्रभावित किसानलाई निशुल्क बीउबिजन दिइने

  • 10 मे 2015
Image caption कतिपय किसानहरु जमीनमा चिरा परेकाले चिन्तित छन्

हालै गएको भूकम्पका कारण अरबौं रुपैयाँ बराबरको खाद्यान्न तथा बीउबिजन नष्ट भएकाले यस वर्ष किसानहरुलाई खेती गर्नका लागि निशुल्क बीउ उपलब्ध गराइने उच्च सरकारी अधिकारीले बताएका छन्।

पशुपंछी तथा खाद्यान्न सहित किसानहरुको नौ अर्ब रुपैयाँ बराबरको क्षति भएकाले उनीहरुलाई उन्नत बीउ तथा पशुहरु दिइने बताइएको छ।

प्रक्रिया

गएको वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण विभिन्न जिल्लामा खाद्यान्न, पशु तथा बीउबिजनहरु पुरिएर क्षति भएपछि खाद्य संकट आउन नदिन सरकारले काम गरिरहेको कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले बताए।

मन्त्रालयले क्षतिको विवरण वाणिज्य मन्त्रालय मार्फत खाद्य संस्थानलाई बुझाईसकेकोले खाद्यान्न आपूर्तिको लागि प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

त्यस्तै खेतमै रहेका बालीहरुलाई विग्रिन नदिन पनि आफुहरु कटिबद्ध भएर लाग्ने उनले बताए।

किसानलाई दिइने राहतबारे उनले भने, “धानको बीउ राख्ने बेला आउँदैछ। बीउ निशुल्क रुपमा उपलब्ध गराउन हामी कार्यरत छौं। त्यस्तै गाईवस्तु र मलको आपूर्ति गर्न पनि हामीले केही दातृ निकायसंग कुरा राखिसकेका छौं।”

क्षति

बीउ तथा पशुपंछीको आपूर्ति सकभर भूकम्पले क्षति नपुर्याएका अन्य जिल्लाहरुबाट गरीने र यो सम्भव नभए दातृ निकायसँग सहयोग मागिने मन्त्रालयले जनाएको छ।

भूकम्प प्रभावित ४० जिल्लाबाट प्राप्त पछिल्लो विवरण अनुसार किसानहरुको नौ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादनको क्षति भएको भट्टराईले बताए।

“ठूला पशुहरु आठ हजारभन्दा बढी अनि साना पशुहरु चौध हजार भन्दा धेरै मरेको आँकडा छ। डेढ लाख कुखुरा पनि मरेका छन्। तिनको कुल मूल्य झण्डै ६३ करोड पुग्छ। सवा लाख मेट्रिक टन भन्दा बढी करीब आठ अर्ब रुपियाँ बराबरको खाद्यान्न नष्ट भएको छ। यसरी नौ अर्ब जतिको नोक्सानी भएको छ,” सचिवले बताए।

कृषि मन्त्रालय मातहतका जिल्लास्थित कार्यालयहरुमा समेत भूकम्पका कारण ठूलो क्षति भएकोले किसानलाई सेवा दिने उक्त कार्यालयहरुको पुन: निर्माणको काम पनि सँगसँगै जारी राखिने मन्त्रालयले जनाएको छ।