क्युबाली राष्ट्रपतिद्वारा पोपलाई धन्यवाद

  • 10 मे 2015
क्यास्ट्रो तस्वीर कपीराइट Getty
Image caption क्यूबाका राष्ट्रपतिले सहयोगका लागि पोपलाई धन्यवाद दिएका छन्

क्यूबा र अमेरिकाबीचको सम्बन्ध पुनर्स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका पोप फ्रान्सिसले क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोसंग आइतबार भ्याटिकनमा भेट गरेका छन्।

भेट पश्चात बोल्दै क्यास्ट्रोले आफुले पोपलाई धन्यवाद दिएको बताएका छन्।

पोपले यसरीनै कार्य गरे आफुले पुन: प्रार्थना गर्न थाल्ने र चर्च जाने उनले बताए।

दोस्रो विश्वयुद्धको भिक्टरी डे परेडमा सहभागी हुन रुसको राजधानी मस्को पुगेका क्यास्ट्रो फर्कने क्रममा रोममा ओर्लिएका थिए र त्यहींबाट पोपलाई भेट्न भ्याटिकन पुगे।

गोप्य बैठक

क्याथोलिक चर्चले सन् १९५९ को क्रान्ति यता पनि लगातार हवानासंग सम्बन्ध कायम राखेको छ।

यही वर्षको सेप्टेम्बर महिनामा पोपले क्युबाको भ्रमण गर्दैछन्।

सन् १९९६ मा क्युबाली नेता फिडेल क्यास्ट्रोले भ्याटिकन पुगेर पोप जन पललाई भेटेका थिए।

क्याथोलिक चर्चले अमेरिका र क्युबाबीच सम्बन्ध सुधार्न श्रृंखलाबद्ध रुपमा गोप्य बैठकहरुको आयोजना गरेको थियो।