भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी

  • 14 मे 2015
भूकम्प तस्वीर कपीराइट
Image caption गत मंगलबार गएको भूकम्पले जनधनको थप क्षति गरेको छ

गत मंगलबार गएको भूकम्पमा परी हराइरहेका तथा घाइतेहरुको उद्धार कार्य बिहीबार पनि जारी रहने अधिकारीहरुले जनाएका छन्।

उद्धार कार्य दोलखा, सिन्धुपाल्चोक तथा रसुवा जिल्लाहरुमा केन्द्रित रहेको बताइएको छ।

बुधबारसम्ममा दुईसय भन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्।

सबै हेलिकोप्टरहरु त्यसतर्फ परिचालित रहने गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले बताए।

मृत्यु

बीबीसीसंग कुरा गर्दै गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले गत मंगलबार गएको भूकम्पमा परी मृत्य हुनेहरुको संख्या नब्बे पुगेको तथा झण्डै चौबिस सय जना घाइते भएको बताए।

उनले अठार जना सुरक्षा कर्मीहरु सहित तातोपानीस्थित सुख्खा बन्दरगाहमा अलपत्र परेका सत्तरीभन्दा बढीको हेलिकोप्टरद्वारा बिहीबार बिहानै देखि उद्धार थालिने पनि जनाए।

गत बैशाख १२ गते गएको विध्वंशक भूकम्पपछि पटक पटक पराकम्पन हरु आइरहेका छन्।

तर ७.३ रिक्टर स्केलको मंगलबारको भूकम्प त्यसयताको सबैभन्दा ठूलो भएको बताइएको छ।

मंगलबारको पराकम्पनपछि राजधानी काठमाण्डौ लगायत अन्य जिल्लाहरुमा पनि हजारौं मानिसहरुले बाहिर खुला ठाउंमा रात बिताउँदै आएका छन्।

त्रास

पटक पटक आइरहेका पराकम्पनहरुका कारण मानिसहरुमा निकै त्रास फैलिएको छ।

भूकम्पविद्हरुले भत्किएका वा चर्किएका घरहरुमा नबस्न तथा सावधान रहन सुझाव दिएका छन्।

गत बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पबाट मारिनेहरुको संख्या आठ हजार दुई सय नाघेको तथा हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन्।