मंगलबारको भूकम्प पछि उद्धार कार्य जारी

  • 13 मे 2015
भूकम्प तस्वीर कपीराइट AFP
Image caption मंगलबारको भूकम्प पछि धेरै मानिसहरु आ-आफ्नो घर फर्कन सकि रहेका छैनन्

मंगलबार गएको भुईंचालोमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा ९१ पुगेको र घाइतेको संख्या झन्डै दुई हजार चार सय नाघेको प्रहरीले जनाएको छ।

अझै पनि भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारणहरू फसिरहेको बताइएको छ।

गृह मन्त्रालयका अनुसार बुधबारको खोज तथा उद्धार मंगलबारको भुईंचालोले सबैभन्दा बढि क्षति पुगेको भनिएका दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सोलुखुम्बु जिल्लामा केन्द्रित रह्यो।

अझै पनि सिन्धुपाल्चोक सहितका जिल्लामा केही सुरक्षाकर्मी फसिरहेको जानकारी गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले दिएका छन्।

सिन्धुपाल्चोकको तातोपानीमा अठार जना नेपाल प्रहरी फसिरहेका छन्।

अर्को ठाउँमा ११ जना सशस्त्र प्रहरी फसिरहेका छन्।

मंगलबारको भुईंचालोमा ४३ जना नेपाल प्रहरी ११ जना सशस्त्र प्रहरी र ६ जना नेपाली सेना घाइते भएका छन्।

अधिकारीहरुले भूकम्पका कारण सोलुखुम्बुमा धेरै घरमा क्षती भएको र पाँच जना विदेशी उद्धारको पर्खाइमा रहेको बताएका छन्।

हेलिकप्टरको खोजी

नेपाली सेनाका उपरथी बिनोज बस्न्यातले दिएको जानकारी अनुसार हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजी कार्यलाई बुधबार दोलखाको सिँगटे र बगुवा क्षेत्र वरपर केन्द्रित गरिएको थियो।

बिहीबारसम्मका लागि हवाइ खोजी कार्य स्थगित गरिएको छ तर स्थलगत रुपमा भइरहेको खोजी कार्यलाई भने जारी राखिएको छ।

अमेरिकी हेलीकप्टरको खोजीमा नेपाली र अमेरिकी सेनाका हवाई साधन परीचालन गर्नु परे पछि उद्दार कार्यलाई तीव्रता दिन केही कठिनाइ बेहोर्नु परेको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।

त्यसैकारण निजी क्षेत्रका हेलिकप्टरको सहयोग लिनुपरेको प्रवक्ता ढकालले बताए।

हेलिकप्टरको अभावसँग जुधिरहेका गृहका अधिकारीहरुलाई पूर्व प्रधानमन्त्री तथा कतिपय उच्च प्रशासकले विकट गाउँमा फसेका मानिसको उद्धार गर्न र मारिएका व्यक्तिको शब ल्याउन टेलिफोन मार्फत अनुरोध गरेका थिए।

गृह मन्त्रालयका अनुसार रसुवामा पहिरोमा फसिरहेका केही सुरक्षाकर्मी सहित करिब ४० जनाको बुधबार बिहान उद्धार गरिएको छ।

बुधबार खोज तथा उद्धारमा श्रोत साधनको अभाव महसुस गरेपछि बिहीबारका लागि उद्धारमा खटाउन निजी हेलिकप्टर भाडामा लिइएको गृह मन्त्रालयले जनाएको छ।

मंगलबारको शक्तिशाली भूकम्प पछि नेपालका केही हिमतालहरू फुट्ने संभावना बढेकोले आफूहरू निकै चिन्तित भएको अधिकारीहरूले बताएका छन्।

त्यस्ता हिमतालहरू कहाँ छन् भन्ने जानकारी भएतापनि तिनको पछिल्लो स्थिति भने थाहा नपाइएको कुरा जल तथा मौसम विज्ञान बिभागका महानिर्देशक ऋषिराम शर्माले बताएका छन्।