संकटसँग मिलेर जुध्ने: प्रम कोइराला

  • 17 मे 2015
तस्वीर कपीराइट AFP
Image caption प्रधानमन्त्रीले आन्तरिक भूगोलका कारण ब्रिटेनको चिनुक हेलिकप्टर फिर्ता पठाउनु परेको कुरा बताए

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट उत्पन्न संकटसित मिलेर जुध्ने कुरा बताएका छन्।

राष्ट्रिय सरकारको चर्चा चल्दै गर्दा उनले संकटबाट पार पाउन मिलेर काम गर्न तयार रहेको बताए।

आइतबार साँझ बालुवाटारमा स्वदेशी तथा विदेशी पत्रकारहरुसंग बोल्दै उनले नेपालको आन्तरिक भूगोलका कारण ब्रिटेनको चिनुक हेलिकप्टर फिर्ता पठाउनु परेको बताए।

जरुरी

भूकम्पले निम्त्याएको महाविपत्तिसंग जुध्न राष्ट्रिय सरकारको आवश्यकता रहेको बारे सत्ताधारी तथा विपक्षी दुवै तर्फका नेताहरुले टिप्पणी गर्दै गर्दा प्रधानमन्त्री सुशील कोइरालाले त्यसबारे प्रष्ट मुख त खोलेनन्, तर सबै मिल्नु जरुरी रहेको बताए।

“यो संकटको घडीमा सबैजना चिन्तित छौं। यसले हामीलाई एकताबद्ध गरिदिएको छ। एकता हामीलाई जरुरी छ। यो समय सबै राजनीतिक दलहरु एकताबद्ध हुँदैछन्,” उनले भने।

तर राष्ट्रिय सरकारको नेतृत्वबारे उनले केही बताएनन्।

विपदका माझ सरकार विफल भएको भन्ने टिप्पणीलाई पनि उनले ठाडै अस्वीकार गरे।

चिनुक फिर्ता

पत्रकार सम्मेलनमा उनलाई ब्रिटेनले राहत कार्यका लागि भनी पठाएको चिनुक नामक हेलिकप्टर नेपालले किन फर्काएको भन्ने प्रश्न गरिएको थियो।

जवाफमा उनले भने, “यसबारे ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनसंग मेरो राम्रो कुराकानी भयो। मैले उनलाई भनें हाम्रो विमानस्थल कति भीडभाडयुक्त भएको छ र हामीलाई कति दुख लागेको छ, मैले उनलाई सबै बताएं। उनले सहयोगको आश्वासन दिए।”

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कोइरालाले विपद व्यवस्थापनका साथै राजनैतिक संक्रमणकालको अन्त्य तथा स्थानिय निकायको निर्वाचन पनि चाँडै गर्ने बताए।