इराकको रमादी शहरमा शिया मिलिशिया

  • 18 मे 2015
तस्वीर कपीराइट bbc
Image caption सरकारले शिया मिलिशियाले रमादी माथिको कब्जालाई उल्ट्याउन सहयोग पुर्याउने आशा लिएको छ

इराकमा सरकारले पठाएको शिया मिलिशियाको एक जत्था इस्लामिक स्टेट उग्रवादीहरुले कब्जामा गएको रमादी शहर नजिकैको एउटा अखाडामा पुगेको छ।

तीन हजार मिलिसिया संलग्न उक्त जत्थाले रमादी शहरलाई पुन: सरकारी नियन्त्रणमा ल्याउने आशा सरकारले गरेको छ।

शिया मिलिशियाहरु रमादी शहरको पूर्वी भेगमा भेला भएर आइतबार उक्त शहरलाई कब्जामा लिएका इस्लामिक स्टेट उग्रवादीहरु विरुद्ध प्रत्याक्रमणको तयारी गरिरहेका छन्।

इराकको सरकारी टेलिभिजनले त्यहांको अल हब्बानिया सैनिक अखाडामा मिलिसियाहरु ट्यांक र अन्य सैनिक वाहनहरु सहित प्रवेश गरिरहेका बताएको थियो।

इस्लामिक स्टेटका लडाकुहरु उक्त सैनिक अखाडातर्फ अघि बढ्दै गरेका भन्ने विवरणहरु आएका थिए।

बग्दादबाट ११२ किलोमिटर पश्चिममा पर्ने उक्त शहरमा भएको लडाईंमा झण्डै पांचसय जनाको ज्यान गएको थियो।

भिडन्तको अवस्था

अन्वार प्रान्तीय परिषदका प्रमुख सबाह कारहुतले रोएटर्स समाचार संस्थासंग कुरा गर्दै रमादीबाट बीस किलोमिटर टाढा रहेको हब्बानियामा शिया मिलिशिया सैन्य पुगेको र तयारी अवस्थामा रहेको बताएका छन्।

उक्त परिषदले सार्वजनिक गरेको विज्ञप्तीमा रमादीलाई मुक्त गराउन तीन हजार शिया लडाकुहरु आइपुगेका जनाइएको छ।

त्यहां सरकारी सेना पराजीत भएर भाग्नु परेपछि इराकी सरकारले इरान समर्थित मिलिसियालाई सहयोगका लागि आह्वान गरेको थियो।

सरकारले शिया मिलिशियाले झण्डै एक बर्षको अवधिमा आइएसले हासिल गरेको सबैभन्दा उल्लेख्य जीत भनी वर्णन गरिएको रमादीमाथिको कब्जालाई उल्ट्याउन सहयोग पुर्याउने आशा पनि लिएको छ।

इरानसंग सम्बन्ध भएका शिया लडाकुहरुले हालै इराकी सैन्यलाई पहिले गुमेका भूभाग पुन: आफ्नो नियन्त्रणमा ल्याउन सहयोगी भूमिका खेलेका थिए।

तर सम्बाददाताहरु भन्छन् सुन्नी मुसलमानहरुको बाहुल्य भएको रमादीमा शिया लडाकुहरुको प्रयोग गर्दा त्यसबाट साम्प्रदायिक तनाव भड्किन सक्ने हो की भन्नेमा सरकार सशंकित रहंदै आएको छ।