'पुनर्निर्माणमा नेपाललाई सबै खालको सहयोग'

  • 19 मे 2015
भूकम्प तस्वीर कपीराइट
Image caption भूकम्पपछिको पुनर्निर्माणमा आवश्यक सबै खाले सहयोग गर्ने प्रस्ताव छिमेकी भारतले गरेको छ

भारतले नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना योजनामा सबै खालको सहयोग गर्ने प्रस्ताव गरेको छ।

विनाशकारी भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना योजनामा सरकार केन्द्रित भइरहेका बेला त्यसमा आवश्यक सबै खाले सहयोग गर्ने प्रस्ताव छिमेकी भारतले गरेको छ।

भूकम्पपछि नेपालको पुनर्निर्माण तथा पुनर्सथापना आवश्कयताबारे बुझ्न सोमबार काठमाण्डू आएको विशेष भारतीय टोलीले प्रधानमन्त्री अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई भेटी त्यस्तो प्रस्ताव गरेको बताइएको छ।

नेपाली पक्षले भने क्षतिको मूल्यांकन गर्न बांकी रहेको भन्दै त्यसपछि मात्रै सहयोगको खाकाबारे जानकारी दिने बताएका थिए।

चासो

भारतीय विशेष टोलीको नेपाल आगमनलाई धेरैले पुनर्निर्माण तथा पुनस्थार्पनामा दक्षिणी छिमेकी र खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीको गहिरो चासोका रुपमा अर्थाएका छन्। मोदी निकट मानिने उनका अतिरिक्त प्रमुख सचिव पी के मिश्र नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री सुशील कोइराला अर्थमन्त्री रामशरण महत र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोख्रेलसंग छुट्टाछुट्टै भेटेको थियो।

ती भेटमा भारतीय पक्षले राखेका धारणाबारे काठमाण्डूस्थित भारतीय दूतावासका प्रवक्ता अभय कुमारले भने, "तत्काल पुनर्स्थापनाका लागि नेपालको आवश्यकता तथा दीर्घकालीन पुनर्निर्माण र पुनस्थापनाबारे उहाहरुले नेपाल सरकारको धारणा बुझ्नुभयो।"

शंका

भारतीय टोलीको नेतृत्व गर्दै काठमाण्डू आएका मिश्र झण्डै डेढ दशकअघि गुजरातमा गएको भूकम्पपछिको पुनर्निर्माण कार्यमा सक्रिय अधिकारीका रुपमा पनि परिचित छन्।

भेटमा भारतीय अधिकारीहरुले आफूहरुको अनुभव नेपालको पुनर्निर्माण योजनामा पनि उपयोगी हुनसक्ने धारणा राखेको अधिकारीहरुले जनाएका छन्।

नेपाली अधिकारीहरुले भने जवाफमा भूकम्पपछिको क्षतिको आंकलन गर्ने क्रम चलिरहेकाले त्यो सकिएपछि मात्रै मित्र राष्ट्रहरुसंग मागिने सहयोगबारे प्रष्ट हुने बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोख्रेलले भने, "हामीले मागे अनुसार पुनस्थार्पना, पुनर्निर्माण तथा क्षमता अभिवृद्धिमा सहयोग गर्न आफूहरु तयार रहेको भारतीय अधिकारीहरुले बताउनुभयो।"

यस्ता योजनाहरुमा नेपाललाई अन्य मुलुक तथा दातृनिकायहरुले पनि सहयोगका लागि चासो देखाउंदै आएका छन्।

यसै हप्ता अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि त्यहांस्थित नेपाली राजदूतसंगको भेटमा हरकिसिमको सहयोगको प्रतिवद्धता जनाएका थिए।

तर कतिपयले विपत्तिको क्षणमा आउने गरेका यस्ता प्रतिवद्धतालाई औपचारिकताको संज्ञा दिंदै तीमध्ये अधिकांशले ठोस रुप पाउनेमा आशंका व्यक्त गरेका छन्।