एउटा विश्वासिलो संयन्त्र आवश्यक

  • 20 मे 2015
Image caption मिश्राले भौतिक तथा सामाजिक संरचना बारे बिस्तृत योजना बनाएर अघि बढ्नु पर्ने सुझाव दिएका छन्

एक जना उच्च भारतीय अधिकारीले विपद लगत्तै उद्दार र राहतमा सघाउन आउने धेरै निकायहरु पुनर्निर्माण प्रकृयामा सामेल हुन अनिच्छुक रहने गरेको भन्दै त्यसलाई ध्यान दिएर योजना बनाउन नेपाललाई सुझाव दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त प्रमुख सचिव पि के मिश्राले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण प्रकृया रेखदेख गर्न एउटा विश्वासिलो संयन्त्र बनाउनु पर्नेमा जोड दिंदै त्यसमा सहयोग गर्न भारत तत्पर रहेको पनि बताए।

डेढ दशक अघि भारतको गुजरातमा गएको भूकम्प पछिको पुनर्निर्माण प्रकृयाको मिश्राले नेतृत्व गरेका थिए।

बर्षायाम अघि नै भूकम्प पिडितलाई अस्थायी टहरा निर्माण गर्न सहयोग गर्न तयार रहेको भारतले जनाएको छ।

भूकम्प पछिको पुनर्निमार्ण योजनाबारे राष्ट्रीय योजना आयोगले छलफल अघि बढाइरहदा भारतको पछिल्लो भनाई आएको हो।

अनुभव

प्रधानमन्त्री सुशील कोइराला सहित सरकारका उच्च पदस्थ अधिकारीहरुलाई भेटेर बुधबार बिहान स्वदेश फर्कनु अघि मिश्राले गुजरातको अनुभव नेपाललाई उपयोगी हुनसक्ने धारणा राखेका हुन्।

१२ हजार भन्दा बढीको ज्यान लिने गरी सन् २००१ मा गएको भूकम्प पछि गुजरातमा गठन गरिएको विपद व्यवस्थापन प्रधिकरणको साढे तीन बर्ष नेतृत्व गरेका उनले पुनर्निमार्ण प्रकृया उद्दार तथा राहत भन्दा निक्कै चूनौतीपूर्ण हुने अनुभव सुनाए।

उनले भने, “उद्दार तथा खोजका लागी निक्कै धेरै गैर सरकारी संस्था र निकायहरु आउँछन् तर पुनर्स्थापना प्रकृया सुरु हुने बेलासम्म मानिसहरुले विस्तारै त्यसलाई बिर्सन्छन् र त्यो अति आवश्यक छ भन्ने महसुस गर्न छोड्छन्। त्यस्तो हुन नदिन हामीले विभिन्न क्षेत्र जस्तै भौतिक तथा सामाजिक संरचना बारे बिस्तृत योजना बनाएर अघि बढ्नुपर्छ।”

पुनर्स्थापना कार्यक्रम बनाउदाँ भूकम्पका कारण अंगभग भएका व्यक्तिहरु बहिष्करणमा नपरुन् भनेर ध्यान दिइनुपर्ने भन्दै उनले भूकम्प प्रभावित क्षेत्रका समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइनु पर्ने बताए।

सुझाव

आफ्नो गृहराज्य गुजरातले व्यहोरेकै स्तरको क्षती पछिल्लो भूकम्पले नेपालमा पुर्याएकाले यहाँको अवस्थाबारे भारतीय प्रधानमन्त्री मोदीले निक्कै चासो लिएको मिश्राले जनाए।

बैशाख १२ गतेको भूकम्प यता दोस्रो पटक काठमाण्डू आएका मिश्राले भूकम्प पछिको अवश्यकता बारेको मुल्यांकन सूरु भैरहँदा तत्कालै पुनर्निमार्णको संरचना बनाउनु पर्नेमा जोड दिए।

उनले भने, “उपयुक्त संरचना गठनका लागि काम अघि बढाउनु पर्ने देखिन्छ किनभने श्रोतको सदुपयोग, परिणाममुखी रुपमा विभिन्न गतिविधीको संचालन र प्रभावित स्थानमा काम अघि बढेको सुनिश्चित गर्न त्यस्तो निकाय हुनैपर्छ।”

नेपालको तत्कालीक आवश्यकता बारे अर्थ मन्त्रालय र राष्ट्रीय योजना आयोगका पदाधिकारीसँग छलफल गरेको मिश्रा नेतृत्वको टोलीले बर्षायाम अघि नै अस्थायी टहरा निर्माणका लागि जस्तापाताको जोहो गर्न भारतले सघाउने प्रतिबद्धता जनाएको छ।