आइएसद्वारा सिरियाको पाल्मिरा कब्जा

  • 21 मे 2015
तस्वीर कपीराइट AFP
Image caption पाल्मिरामा कुनै क्षति भए त्यो मानवताकै निम्ति ठूलो नोक्सानी हुने चेतावनी दिइएको छ

सिरियामा इस्लामिक स्टेट विद्रोहीहरु प्राचीन भग्नावशेष रहेको विश्व सम्पदा सूचीमा सूचीकृत पाल्मिरामा प्रवेश गरेका छन्।

राष्ट्र संघीय निकाय यूनेस्कोले भनेको छ, पाल्मिरामा कुनै क्षति भए त्यो मानवताकै निम्ति ठूलो नोक्सानी हुनेछ।

हालसम्म त्यहाँ क्षति भएको खबर भने आएको छैन।

लालायित

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाका अनुसार आइएस विद्रोहीहरुले पाल्मिरा नजिकैको विमानस्थल, जेल र गुप्तचर संस्थाको मुख्यालय नियन्त्रणमा लिएका छन्।

ती विद्रोहीहरुले यसअघि इराकमा प्राचीन स्थलहरु कब्जामा लिएर ध्वस्त पारेका थिए।

ती स्थल इस्लामभन्दा पूर्व कालका थिए।

लेबननको बेरुतस्थित बीबीसी सम्वाददाता जीम म्युइर भन्छन्, पाल्मिरा बारे जनाइएको अन्तर्राष्ट्रिय चिन्ताले विद्रोहीहरुलाई झन विनाश गर्न उक्साउन सक्छ किनकि संसारलाई चुनौति दिन र स्तब्ध पार्न उनीहरु जहिल्यै पनि लालायित रहन्छन्।

महत्व

पाल्मिराको उक्त प्राचीन स्थल राजधानी डमास्कस र पूर्वी शहर डेइर अल जुर जोड्ने रणनीतिक महत्वको सडक नजिकको क्षेत्रमा पर्छ।

सिरियाली सरकारले विद्युत उत्पादनका निम्ति प्रयोग गर्ने तेल र ग्यासको भण्डार रहेको क्षेत्र नजिकै पाल्मिरा रहेको छ।

त्यहाँ प्राचीन महान नगर तथा स्मारकको भग्नावशेष रहेका छन् , जसलाई यूनेस्कोले प्राचीन विश्वको एक सबभन्दा महत्वपूर्ण सांस्कृतिक केन्द्र भनेको छ।

उक्त स्थल पहिलो र दोस्रो शताब्दी ताका रोमन साम्राज्य अन्तर्गत रहेको थियो।