बस्ती अध्ययन गर्न विज्ञटोली जाँदै

  • 21 मे 2015
तस्वीर कपीराइट AFP
Image caption सात जिल्लाका ठूलो जोखिममा रहेका बस्तीहरु बेलैमा सार्नु पर्ने स्थानीय प्रशासनको सुझाव छ

भूकम्पका कारण बस्नै नमिल्ने अवस्थामा पुगेका ठानिएका मानव बस्तीको अध्ययन गर्न विज्ञका टोलीहरु आजदेखि त्यस्ता ठाउँहरुमा जाँदैछन्।

विभिन्न जिल्लास्थित प्राकृतिक प्रकोप उद्धार समितिहरुले सार्नु पर्ने अवस्थामा पुगेका बस्तीहरुको सूची पठाउँदै तीनको अध्ययनको निम्ति आग्रह गरे बमोजिम उक्त निर्णय लिइएको गृहमन्त्रालयले जनाएको छ।

खानी तथा भूगर्भ विभागका अधिकारीको नेतृत्वको टोलीमा विभिन्न क्षेत्रका विज्ञहरु रहनेछन्।

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले भने, “ती टोलीको अध्ययनपछि जोखिमपूर्ण स्थानको पहिचान हुन्छ र बस्ती सार्ने विषयमा निर्णय लिइने छ।”

क्षतिको डर

भूकम्प प्रभावित कतिपय पहाडी तथा हिमाली क्षेत्रका गाउँमा पहिरोको उच्च जोखिम रहेको भन्दै बस्ती सार्ने विकल्पमा छलफल अघि बढाइएको हो।

सातवटा जिल्लाका प्राकृतिक प्रकोप उद्धार समितिले कतिपय त्यस्ता बस्तीहरुलाई बेलैमा नसारिए वर्षामा ठूलो क्षति हुने अवस्था रहेको भन्दै गृहमन्त्रालयलाई पत्राचार गरेका छन्।

हालसम्म अध्ययनका निम्ति बस्तीहरुको नाम सहित सिफारिस गर्ने जिल्लाहरुमा सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, दोलखा, रसुवा र रामेछाप छन्।

विज्ञ-टोलीले उनीहरुले पठाएका गाउँहरुमा पुगेर अध्ययन गर्ने र बस्ती सार्नु पर्ने या नपर्ने राय सहितको प्रतिवेदन बुझाउने बताइएको छ।

नयाँ ठाउँ खोज्दै

तर उक्त टोलीलाई प्रतिवेदन बुझाउने समयसीमा नतोकिएको महाशाखाका प्रमुख दंगालले बताए।

उनले भने “विकट ठाउँहरु समेत रहेकाले समय तोकिएको छैन, तर जति सक्दो छिटो काम सक्ने भन्ने छ।”

विज्ञको टोलीले बस्तीको अध्ययन थाल्दै गर्दा सम्बन्धित क्षेत्रका सभासदको नेतृत्वमा गठन गरिएको समितिले अति जोखिमपूर्ण बस्ती सार्न सकिने नयाँ ठाउँको पहिचान गर्ने कामलाई पनि निरन्तरता दिने बताइएको छ।

दुबै प्रतिवेदन आएपछि बस्ती सार्नेबारे निर्णय लिन सरकारलाई बाटो खुल्ने ठानिएको छ।